दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाको सनाखत भएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १÷१ जना गरी २३ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नम्वर–३ दाङका २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षक घोराही उपमहानगरपालिका वडानम्वर–१७ का २८ वर्षीय प्रदिप घिमिरे, बसका सहचालक तुलसीपुर उपमहानगरपालिका वडानम्वर–१८ का २२ वर्षीय गणेश बिक छन्।
यसैगरी, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ दाङका २१ वर्षीया कविता खत्री, दंगीशरण गाउँपालिका–१ का २० वर्षीया सञ्जित रत्गैयाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिए।
उहाँका अनुसार दुर्घटनामा परी जुम्ला चन्दननाथ नगरपालिका–६ का १६ वर्षीय कुशुम रावल, चन्दननाथ नगरपालिका–३ जुम्लाका १७ वर्षीय हिम्मत बोहरा, कन्कासुन्दरी गाउँपालिका–५ जुम्लाका २० वर्षीय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ जुम्लाका १७ वर्षीया शैलजा शाही, चन्दनथान–१० जुम्लाका १८ वर्षीय रुपेश शाही रहेका छन्।
त्यस्तै चन्दननाथ –१४ जुम्लाका १७ वर्षीय रितेन्द्र शाही, चन्दननाथ–५ जुम्लाका देविप्रसाद उपाध्याय, तीला गाउँपालिका–१ जुम्लाका जंगबहादुर बिक, चन्दननाथ– ३ का १८ वर्षीय अर्जुन शाही, चन्दननाथ–१० जुम्लाका विपना खत्री, तीला गाउँपालिका–३ जुम्लाका रमेश उपाध्यायको मृत्यु भएको छ।
शिक्षालयका शिक्षक रुकुम भुमे गाउँपालिका–६ का २८ वर्षीय नरेश वली, जग्दुला–७ डोल्पाका १६ वर्षीय गजेन्द्र ऐरी, भेरीगंगा नगरपालिका–४ जाजरकोटका १७ वर्षीय आतिस नेपाली, कृष्णपुर नगरपालिका–५ कञ्चनपुरका १७ वर्षीय खेमराज भट्ट, जयपृथ्वी नगरपालिका बझाङका १७ वर्षीय महेश जोशी, बुढिगंगा–१० बाजुराका लोकेन्द्र रावलको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए।
मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला जिल्लाका ११ जना विद्यार्थी रहेका छन्। उनीहरुको शव लिन केहीबेरमा हेलिकोप्टर दाङ पुग्दै गरेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारिले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। अन्य २ जनाको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए। दुर्घटनामा परी १४ जना घाइते भएका थिए।
घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्।
तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।