जनकपुर– सिराहाको मिर्चैया नगरपालिका –७, फूलबरियाको महराटोलकाे एक दलित बस्तीमा तीन पुस्तादेखि बस्दै आएको जमिन वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बिक्री भएपछि त्यहाँका बासिन्दाहरू मारमा परेका छन्।
जग्गा धनीलाई पैसा तिरेर झण्डै ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जमिन वडा नं ७ का वडा अध्यक्ष रामकुमार यादवले जग्गामा घर नभएको भन्ने सिफारिस दिएको आधारमा जग्गा व्यवसायीले खरिद गरेका छन्।
बस्ती भएको जमिन बिक्री भएको खबर पाएपछि बस्तीका दलितहरूको भोक प्यास हराएको छ। उनीहरु कहिले वडा कार्यालय, कहिले नगरपालिका कार्यालय, कहिले मालपोत त कहिले अधिकारकर्मीकोमा धाइरहेका छन्।
सम्पत्तिको नाममा रहेको त्यही बस्ने थातथलो पनि गुम्ने त्रासमा उनीहरू रहेका छन्। जमिन बिक्री भएको खबर पाएपछि यहाँ रहेका २८ घर परिवार छटपटीमा परेका छन्।
आफ्नो बुवाले नै पैसा तिरेको भए पनि साहुले जमिन पास नगरेपछि तीन पुस्तादेखि आफूहरु बस्दै आएको जमिन अरुले पास गरेको खबरले ६५ वर्षीय घुरन महरा चिन्तित बनेका छन्।
उनले भने, ‘जग्गाधनीलाई बुवाले जग्गाको दाम दिए पनि आजभोलि भन्दाभन्दै पास गरिदिएनन्, अहिले उनका नातीहरुले हामीलाई सूचना नै नगरी बस्ती भएको जमिन बिक्री गरेका छन्, जमिन बिक्रीको खबरपछि हाम्रो भोक प्यास नै हराएको छ।’
दलित बस्ती कै ५५ वर्षीय बिसुनियाँ महराका बुवाले नै कल्याणपुर जब्दी ८ का जग्गाधनी हजारी साहु भन्ने रामचन्द्र साहलाई पैसा बुझाएको बताए।
‘साहलाई जमिनको मूल्य तिरेको भए पनि उनले तिमीहरुलाई बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला नि भन्दै टार्दाटार्दै उनको मृत्यु भयो, आज उनका नातीहरुले हामीलाई पत्तै नदिई जमिन बेचेछन्’, बिसुनियाले थपे, ‘हामी गरिब दलितलाई उठिवास लगाउने नियतले जमिन बेचेको हो, यसमा वडा अध्यक्षले पनि बदमासी गरेछन्।’
जमिन बिक्री भएपछि घुरन र बिसुनियाँमात्र होइन, महरा बस्तीका २८ घर परिवार चिन्तित भएका छन्। दलित बस्तीमा बस्नेहरुको बस्ने घरबाहेक अरु जग्गाजमिन केही छैन।
रामचन्द्रको मृत्युपछि पनि आफूहरुले उनका छोरालाई आफ्नो नाममा जग्गा पास गरिदिन आग्रह गर्दै आएको महरा बस्तीका अगुवा बताउँछन्। रामचन्द्रका छोराले पनि आजभोलि गर्दै जमिन पास गरिदिएनन्।
महरा बस्तीका कसैलाई थाहै नदिई उनका नातीहरु श्रवणकुमार साह, दिपनारायण साह, सत्यनारायण साह, रामेश्वर साह लगायतले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका–१२, रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेका हुन्।
यता वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताए। उनले आफूबाट गल्ती भएको भन्दै अब बस्तीको जमिन फर्काउन आफूले सक्ने सबै खालको सहयोग गर्न तयार रहेको पनि बताए।
उक्त दलित बस्तीमा विद्युत, पानी र बाटोहरु भए पनि वडा कार्यालयले बाटो नभएको र घर नभएको सिफारिस दिएको छ।
स्थानीय बासिन्दाहरूले वडाध्यक्ष यादवले जग्गा व्यवसायीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन्।
उनीहरुले वडा कार्यालय अगाडिकै दलित बस्तीको जमिनमा घर नरहेको सिफारिस दिनु अचम्म भएको पनि बताएका छन्।
यस सन्दर्भमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले सिरहाको मिर्चैया नगरपालिका स्थित फुलबरिया, महराटोल–७ को स्थलगत अध्ययन गरी वास्तविक जानकारी लिएका छन्।
अनुगमन टोलीले दलितहरूको बस्तीलाई कल्यानपुरका हजारी साहु लगायतले ६५ वर्ष अगाडी नै केही रकम लिई दलितहरुलाई दिई सकेको जग्गा २०७५ मंसिर ९ गते सुरेश साह लगायतलाई बिक्री गरेको विषयमा स्थलगत अध्ययन गरेको छ।
टोलीले गरेको स्थलगत अध्ययनको क्रममा वडा अध्यक्ष रामकुमार यादवले सो जग्गामा घरहरु नरहेको सिफारिस गरेको समेत देखिएको छ।
मुख्यन्यायधिवक्ता झाको अनुसार उक्त स्थानमा करिब ७० वर्षदेखि भोगचलन गर्दै आएको २८ दलित महरा परिवारका घरहरू रहेको हुँदा गुपचुपमा बेचिएको जग्गाले दलितहरुलाई उठिबास गराएको छ।
झाले भने, ‘उनीहरुको भोगाअधिकार उल्लंघन भएको छ। उक्त विषयमा प्रदेश सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने तथा टोलीले दर्ता बदर, झुटा सिफारिस बदर तथा भोगाधिकार कायम हुनु पर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।