काठमाडौं- यतिखेर नेपाली समाज तिहारमय भएको छ। सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याई भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ।
कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्ने गरेका छन्।
म्ह:पूजा कसरी गर्ने?
म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो। तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन्। यस दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन्।
म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ। मण्डप बनाउँदा तेलको घेरा, पिठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ।
त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ। म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन्। सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ। कोखा काँचो धागोमा रङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ।
म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ। यो पूजा गर्दा शरीरमा तीन पटकसम्म मुटुमारी (चामलको रोटी) सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ। त्यसपछि टीका लगाई माला लगाइन्छ।
आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ। यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ। यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ। पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्री लगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ।
नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ। स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ।
सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउँछन्। उनका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भन्नका लागि यो पूजा गरिन्छ।
'यही म्हःपूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं,' उनले भने, 'हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ। यी पाँच तत्वका रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौँ।'
म्हःपूजा कहिलेदेखि सुरु भएको वा कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।