काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् ।
मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको बताए ।
उनले भने , ‘प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’
त्यस्तै बालेनले झापा-५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा-५ का उम्मेदवार बालेनसँग स्थानीयले जग्गाधनी पुर्जा (लालपुर्जा) को विषयमा गुनासो राखेका थिए ।
स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए ।
उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।