राजविराज– पहाडी जिल्ला कालिकोटका २८ वर्षीय रत्न बुढा जाडो मौसम सुरु भएसँगै तराई झरेका छन्। शीतलहर बढेपछि तराईमा बाक्ला कपडाको माग बढ्ने विगतको अनुभवले उनलाई फेरि तराईसम्म डोर्याएको हो।
जाडाेमा बाक्ला कपडा तथा चकटी र गलैंचाको भारी बोकेर उनी गाउँ–गाउँ डुल्छन्। जाडो बढ्दै जाँदा व्यापार पनि बढ्दै जाने उनको अनुभव छ। ‘सुरु–सुरुमा त ठग्न आएको भनेर गाउँलेले विश्वास पनि गर्दैनन्,’ सप्तरीको ग्रामीण क्षेत्रमा भेटिएका बुढा भन्छन्, ‘तर, घुम्दै जाँदा विश्वास पनि बढ्दै जान्छ।’
सामान गुणस्तरहीन परे फिर्ता गर्ने र साटेर दिने गर्न थालेपछि उनीप्रति गाउँलेको भरोसा पनि बढेको छ। कतिपयले त फोन गरेरै कपडाको माग गर्छन्। ‘हामीले दिने कपडाको मूल्य पसलभन्दा सस्तो हुन्छ’ उनी थप्छन्, ‘वास्तविकता बुझेपछि गाउँलेले आफैं पनि बोलाउँछन्।’
सिरहाको लहान बजारमा उनको अस्थायी बास (भाडाको कोठा) छ। लहानबाटै कपडा बिक्रीका लागि सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा र महोत्तरीका गाँउसम्म पुग्छन्, बुढा। सहर–बजारमा भने उनलाई सामान बेच्न त्यति सहज छैन।
‘कपडा पसलेले हामीलाई रुचाउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले हामी बजारभन्दा गाउँतिर नै बढी घुम्छौं।’
ग्रामीण क्षेत्रमा हुने बिक्रीबाट पनि उनी सन्तुष्ट छन्। ‘खर्च काटेर मासिक २५ हजारभन्दा बढी नै बच्छ,’ हँसिलो देखिएका बुढा भन्छन्, ‘सामान्य अवस्था रहे खेती र व्यापार गर्दा परिवार पाल्न विदेश जानु पर्दैन।’

उनको परिवारमा ६५ वर्षीय पिता कविलाल, ६० वर्षीया आमा सुनकैला, श्रीमती लक्ष्मी, ४ जना भाइ र ४ वर्ष मुनिका १ छोरा र १ छोरी छन्। ४ जना भाइ स्थानीय विद्यालयमा अध्ययनरत छन्।
परिवारको पालन–पोषण र भाइहरुको पढाइ–लेखाइका लागि व्यापारबाहेक गाउँमा उनी स्याउ खेती पनि गर्छन्। कालिकोटको तिला नगरपालिका– २ मा उनको जग्गा छ। धान, मकै, गहुँलगायतका अन्न उब्जनी हुने जग्गामा अहिले स्याउ फल्न थालेको छ। गाँउमा गाडी पुगेपछि स्याउको माग बढेको र सबैको ध्यान अन्नबालीभन्दा स्याउमा केन्द्रित भएको उनले बताए। ‘स्याउको माग बढेपछि हामीले पनि स्याउ खेती बढाउँदै लगेका छौ,’ उनले भने।
खेतीबाट बचेको समय भने उनी व्यापारमा लगाउँछन्। दसैं–तिहार र जाडोको समय पारेर उनी वर्षको दुई पटक तराई झर्छन्। विगत ३–४ वर्षदेखि यो प्रक्रिया निरन्तर चल्दैछ। दसैं–तिहारताका एक महिना र जाडो मौसममा कात्तिकदेखि फागुनसम्म तराईका जिल्लामा बस्ने गरेको उनले बताए।
छिमेकी र आफन्त पनि अहिले रत्नसँगै तराई झरेका छन्। मान बुढा, प्रभुलाल बुढा, नन्द बुढा, दान बुढा, रंग बुढालगायत करिब ५० जना कालिकोटे यतिबेला तराईका जिल्लामा छन्। ढाडमा कपडाको भारी बोकेर गाँउ–गाँउ घुम्नु र बिक्री गर्नु उनीहरुको दैनिकी हो।
‘प्रहरीका कारण चोर जस्तो लुकेर हिँड्नुपर्छ’
व्यापारका क्रममा उनीहरु निर्बाध रुपमा गाउँ घुम्छन्। गाउँलेहरु सहयोगी र आत्मीय लाग्छ उनीहरुलाई। तर, एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भने दुःख पाउने गरेको तितो अनुभव छ, कालिकोटेहरुको।
प्रहरीले चेक पोस्टमा दुःख दिने र अनावश्यक तनाव दिएर पैसा असुल्ने गरेको रत्न बताउँछन्। प्रहरीकै कारण एक जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भने चोरजस्तो लुकेर हिँड्नु परेको उनले दुखेसो गरे। ‘सधैभरि एकै रफ्तारमा सामान बिक्री हुँदैन। कहिलेकाँही पुरानो सामान सकिन २–३ महिना पनि लाग्छ,’ उनी थप्छन्, ‘प्रहरीले नयाँ बिल मागेर दुःख दिन्छ।’ दुई–चार सय दिए जान दिने र पैसा दिन आनाकानी गरे सामान खोसेर राखिदिने गरेको उनले सुनाए।
पूर्व विकासमा अगाडि, व्यापार राम्रो
रत्नको बुझाइमा विकास–निर्माणका दृष्टिले पूर्वी क्षेत्र अगाडि छ। चहल–पहल र किनबेच पनि पूर्वमा धेरै हुने भएकाले उनीहरु प्रायः पूर्वी जिल्लामै घुम्न रुचाउँछन्। अघिल्लो वर्ष इटहरी बसेर पूर्वका झापा, मोरङ, सुनसरीदेखि इलामसम्म व्यापार गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।