काठमाडौं- बेलुका करिब ५ बजे। स्पेशल पानीपुरी तथा चटपटे पसल, बानेश्वर।
कोही पानीपुरी बनाउँदैछन् त कोहीलाई चाट बनाउन भ्याइनभ्याई छ। कोही भने चटपटेमा पिरो-अमिलो मिलाइरहेका। सबै व्यस्त। सबै असिनपसिन।
पिरो अमिलो स्वाद लिएर जिब्रो फड्कार्न पुग्नेहरुको भिड उस्तै देखिन्छ। यस्तै भिडमा भेटिइन्, भक्तपुरकी सीता केसी। उनी अफिस बिदा हुनासाथ सधैं यहीँ आइपुग्छिन्- चटपटे र पानीपुरी खान। 'अफिसबाट निस्किएर म यहीँ आइपुग्छु,' उनले भनिन्, 'यहाँको चटपटे नखाई घरै जादिनँ।' सीता मात्र होइन उनी आफ्ना साथीहरुलाई समेत लिएर यहाँ आउने गरेकी छिन्।
अरुतिर भन्दा यहाँ सफा भएकाले आफू आउने गरेको उनले सुनाइन्।
उनको प्रशंसाले राजेन्द्र चौधरी मुसुमुसु हाँसिरहेका थिए। बाराबाट काठमाडौं आएर उनले चटपटे बेच्न थालेको एक दशक बितिसक्यो। पहिले सानो टोकरीमा चटपटे बेच्दै हिँड्ने उनले अहिले तीन जनालाई रोजगार दिएका छन्।
सबै साथी विदेश गएका छन् तर राजेन्द्रलाई कहिलै विदेश जान मन लागेन र व्यापार थाले। 'चटपटे बेचेर राम्रै गुजारा चलिरहेको छ, किन जानुपर्यो विदेश,' उनी ढुक्कसाथ भन्छन्।
उनका अनुसार छ जनाको परिवार यही चटपटे पसलले धानिरहेको छ। चार छोराछोरी पढाउन पुगेकै छ। तर यसपालि उनलाई विपत्ति आइलाग्यो। वर्षासँगै आएको बाढीले खेताबारी र गाईभैंसी समेत सोहोरेर लगिदियो। 'अब त्यतातिर लगानी गर्न पनि व्यापारमा बढी आम्दानी गर्नुछ,' उनी भन्छन्।
व्यापारबाट उनी दैनिक चार-पाँच हजार कमाउँछन्। 'कमाइ त राम्रै छ तर खर्च पनि भइहाल्छ नि,' उनी हिसाब गर्न थाले, 'कामदारलाई ज्याला, सामानको खर्च, भाडा…'
टाढा-टाढाबाट समेत उनलाई सम्झेर चटपटे खान आउनेहरु पनि रहेछन्। तर सधैं उस्तै व्यापार हुँदैन। 'सबैभन्दा धेरै पानीपुरी र चटपटे नै बिक्छ,' उनी दाबी गर्छन्, 'अहिलेसम्म यहाँ आएर खानेहरुले नराम्रो र नमिठो भनेर भन्नु भएको छैन।' चटपटे र पानीपुरी बनाउँदा उनले पञ्जाको प्रयोग गर्ने गरेका छन्।
कतिपय त उनका नियमित ग्राहक पनि छन्। उनीहरु खाजाको साटो चटपटे र चाट खाएरै फर्किन्छन्।
बानेश्वर बस्ने शर्मिला बस्नेत पनि यहाँ आउने नियमित ग्राहक हुन्। अरु ठाउँमा चटपटे खाएको चित्तै बुझ्दैन भन्छिन् उनी, 'म त जहिल्यै पनि स्पेशल पानीपुरी र चाट खान यहाँ आउने गरेकी छु।'
दशैंको बेला भने उनले खासै व्यापार गर्न सकेनन्। किनकि चाड मनाउन घर जानेहरुका कारण व्यापार प्राय: सुनसान भइदियो।
बिहान ७ बजे पसल खोल्न आइपुग्ने राजेन्द्र रातको ८ बजेसम्म ग्राहक कुर्दै बसिरहेका भेटिन्छन्। 'बेलुका र दिउँसो त हामीलाई भ्याइनभ्याई हुन्छ,' उनले भने, 'तर पनि ८ बजेसम्म त कुरेरै बस्छु।'
चटपटेको व्यापार सदाबहार हुने गरेको छ। बालबालिका, युवा तथा वृद्धवृद्धा पनि चटपटेको स्वाद लिइरहेको भेटिन्छन्। राजेन्द्र अरुलाई जिब्रोको स्वाद दिलाएर आफू भने कमाइको स्वादबाट सन्तुष्ट लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।