काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।
कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए ।
संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू सिंहदरवारमा दिउँसो १२ बजे संयुक्त छलफलमा बस्दैछ । त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्नेछ ।
नेपाली कांग्रेसबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल दलहरूसँग संवादमा छन् ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।