रसुवा- विनाशकारी भूकम्पका बेला घाँस काट्न जाँदा रसुवा हाकुकी म्हेन्दो तामाङका श्रीमानको ज्यान गयो। श्रीमान् गुमेपछि ४५ वर्षकी तामाङको भरोसाको लठ्ठी भाँच्चिएको छ। उनले सुखका दिन सक्किएको महसुस गरेकी छिन्।
'जीवन रहेर पनि सास नभएको जस्तै भएको छ,' उनी मसिनो स्वरमा भन्छिन्, 'घरव्यवहार धान्न न धौधौ भएको छ।'
कमाइ गर्ने श्रीमान् नहुँदा बालबच्चाको पालनपोषणमा समय निकाल्न उनले भ्याएकी छैनन् भने आर्थिक बोझले उत्तिकै थलिएकी छिन्। एकपछि अर्को चाडबाड आउँदा खर्च कसरी जुटाउने, उनी समस्यामा छिन यतिबेला।
छिमेकीहरु उत्साहजनक रुपमा दशैं मनाइँरहदा उनलाई भने यो समस्या नै अहिलेका लागि चुनौती बनेको छ।
हाकुबाट विस्थापित भएकी उनी चार बालबालिकासहित अहिले सदरमुकाम धुन्चेमा टहरा बनाएर बस्दै आएकी छिन्। 'गिट्टी कुट्ने, बालुवा बोक्ने काम गरेर भए पनि बच्चाबच्ची त पाल्नुपर्यो नि,' उनी आफ्नो बाध्यता सुनाउँछिन्।
एकातिर बस्ने बास छैन, अर्कोतिर श्रीमान् गुमाउनुको पीडा। सरकारी राहतसमेत नपाउँदा समाजमा एक्लो भएको महसुस भएको उनी सुनाउँछिन्। 'घर छैन, भूकम्पबाट विस्थापित भएर धुन्चेको केबुमा बसिरहेको छु,' निराशाको स्वरमा उनले भनिन्, 'कहाँ जाने के गर्ने, केही थाहा छैन। घर कसरी बनाउने भन्ने अर्को चिन्ता छ।'
तामाङ मात्र होइन रसुवाको उत्तरगया गाउँपालिका ४ की मेनुका नगरकोटीको पीडा पनि फरक छैन। भूकम्पपश्चात् उनले पनि श्रीमान् गुमाइन्। श्रीमानको नाममा जग्गा धनीपूर्जा हुँदा भूकम्पपछिको पुननिर्माणका लागि सरकारी राहतबाट वन्चित हुनुपरेको नगरकोटी बताउँछिन्। 'पछिल्लो समय फाराम भरेर जिल्लामा त पठाएको थिएँ तर अहिलेसम्म केही जानाकारी छैन,' उनले भनिन्।
स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि आउँदासमेत एकल महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसक्दा आफूहरुले एक्लोपन महसुस गर्नुपरेको उनीहरु बताउँछन्।
विनाशकारी भूकम्पमा श्रीमान् गुमाएका रसुवाका एकल महिलाहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको छ। भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा समस्या थपिएको हो। भूकम्पको साढे दुई वर्ष बितिसक्दा समेत सरकारी अनुदान नपाउँदा उनीहरुले आवास पुनर्निर्माण गर्न पाएका छैनन्।
सरकारले एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता लगायतको सुविधा त दिएको छ तर, सबैले पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।