धनगढी। सुदूरपश्चिम प्रदेशको खेलकुद विकास र नेपाली क्रिकेटको भविष्यसँग जोडिएको महत्वाकांक्षी आयोजना फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ। रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलकै दिन सामाजिक सञ्जालमार्फत प्रारम्भिक चरणमा मैदान निर्माणका लागि हालको जमिनको सतहबाट माटो भर्ने तथा जमिन सम्याउने काम गरिने जनाकारी दिएका हुन्।
‘यस ठेक्का अन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहबाट माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने लगायतका काम सुरु हुनेछन्,’ उनले लेखेका छन्।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुदूरपश्चिम प्रदेशको मात्र नभई समग्र नेपाली क्रिकेटको विकाससँग जोडिएको महत्वपूर्ण परियोजना हो। लामो समयदेखि चर्चामा रहेको यस आयोजनाले निर्माण प्रक्रिया अघि बढेसँगै मूर्तरूप लिने अपेक्षा गरिएको छ।
रंगशाला निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्ने आधार तयार हुनेछ। यसले स्थानीय खेलाडीलाई आफ्नो प्रदेशमै उच्चस्तरको खेल वातावरण उपलब्ध गराउनुका साथै क्रिकेटप्रतिको आकर्षण र सहभागिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार निर्माणले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। ठूला खेल प्रतियोगिता आयोजना हुँदा खेलाडी, दर्शक तथा खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको आवागमन बढ्ने र त्यसबाट होटल, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि विस्तार हुन सक्नेछ।
लम्सालले यस आयोजनालाई सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्व बोकेको परियोजनाका रूपमा व्याख्या गरेका छन्।
‘सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छौं,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।