काठमाडाैं– कथाकार दिनमान गुर्मछानको मोबाइलको घन्टी बज्यो। लन्डनबाट लेखक विजय सापकोटाले गरेका रहेछन्।
_x000D__x000D_
दिनमानले फोन उठाएका मात्र के थिए, उताबाट लेखकले सुरुमै अनौठो कुरो सुनाए, ‘दिनमान जी आज मैले तपाईंको 'अनुहार' कथाको पात्रलाई भेटेँ नि!’ दिनमान आश्चर्यचकित भए।
_x000D__x000D_
‘घरमा धारा बिग्रिएको थियो। एकजना पञ्जाबी प्लम्बर आयो। ऊ इन्डियाबाट लन्डन गएको रहेछ,’ अलमलिइरहेका दिनमानलाई विजय सापकोटाले रहस्य खोले, ‘ऊसँग कुरा गर्दै जाँदा यस्तो लाग्यो कि ऊ तपाईको अनुहार कथाकै पात्र हो।’
_x000D__x000D_
केही महिना अघिको घटना उनी सुनाइरहेका थिए। म सामुन्ने बसेर उनको अनुहारको भाव पढ्न खोज्दै थिएँ। उनी आफ्नो कथाको रहस्य खोल्दै थिए।
_x000D__x000D_
'भर्खरै जन्मिएको शिशु अचानक स्थानीयले भेट्टाउँछन्। कसैले बेवारिसे झैं छोडीदिएको बच्चालाई कस्को जिम्मा लगाउने भन्ने अलमल उनीहरूमा हुन्छ।
_x000D__x000D_
सबैले प्रहरी अधिकृतलाई बच्चा सुम्पिनु उचित ठान्छन्। उनको आफ्नो सन्तान नभएको कारणले शिशुको जिम्मा आफैंले लिन सहमत हुन्छन्।
_x000D__x000D_
प्रहरी पत्नीले पनि बच्चालाई सन्तान जसरी नै माया गरेर हुर्काउँछिन्। उनीहरूको आफ्नो सन्तान नहुनाले बालक माया ममतामै हुर्कन्छ।
_x000D__x000D_
यसरी हुर्कँदै गएको बच्चाको अनुहार विस्तारै प्रहरी अधिकृतको जस्तै भएर आउँदा स्थानीय अचम्ममा पर्छन्।
_x000D__x000D_
एकदिन प्रहरी अफिसरको हातमा एउटा चिठ्ठी पर्छ र उनले चिठ्ठी खोलेर पढ्छन्। त्यहाँ लेखिएको कुराले उनी चकित हुन्छन्। उनले हुर्काइरहेको बच्चा त आफ्नै पो हुँदो रहेछ।
_x000D__x000D_
जनयुद्धको समयमा प्रहरी अफिसरको एउटी युवतीसँग शारीरिक सम्पर्क भएको हुन्छ। उही युवतीबाट जन्मिएको बालक नै अफिसरको सन्तान रहेको प्रमाणित हुन्छ।'
_x000D__x000D_
कथाको सार यही छ। कसैले यस्तो पनि कतै हुन्छ र भनेर भन्न सक्छन्। तर,भइदियो पनि यस्तै। दिनमान पुन: लन्डनबाट आएको फोन सम्झन्छन्, ‘विजय जीले भेट्नुभएको पात्रको जीवन र मेरो अनुहार कथामा समानता भेटेँ।’
_x000D__x000D_
पञ्जाबीको घटनाबारे विजय सापकोटाले फोनमा भनेका कुरा दिनमान सम्झन्छन्, ‘ऊ इन्डियामा हुँदा उसको घरको आँगनमा कसैले अबोध बच्चा छाडेर गएको रहेछ। निःसन्तान उनीहरुले भगवानको प्रसाद सम्झेर आफैंले बच्चा हुर्काए। बच्चा हुर्कँदै गयो।
_x000D__x000D_
बच्चाको कम्मरमा सानैदेखि एउटा लकेट लागाइएको थियो। सुरुमा त कसैले खोलेनन्। तर, जब बच्चा ठूलो भयो लकेट सानो र कसिन थाल्यो। कसिएको त्यो लकेट खोल्दा लकेटमा एउटा कागज बेरिएको थियो र कागजमा एउटा सानो चिठ्ठी थियो।
_x000D__x000D_
पञ्जाबी दम्पत्तिले कागजमा भएका सबै अक्षर पढ्दा छर्लङ्गै भयो। बच्चा त उसकै रहेछ। बच्चाको आमाले लकेटमा चिठ्ठी बेरेर चिठ्ठीसँगै बच्चा छाडेर गएकी रहिछ। चिठ्ठीमा त्यस पञ्जाबीलाई तथानाम गाली गरिएको थियो रे’ उनले पञ्जाबीको कथा सुनाए।
_x000D__x000D_
उनी बाेल्दै गए, 'कथाकार विजय सापकोटाले भनेका थिए, ‘हेर्नुस् त कथामा कति ताकत हुँदो रहेछ! म त्यस पञ्जाबी प्लम्बरलाई भेटेर दंग परेँ।’ यो कुरा सुनेर कथाकार दिनमान आफैं पनि छक्क परेका थिए।
_x000D__x000D_
यसपछि हाम्रो कुराकानी मोडियो। केही समयअघि बजारमा आएको ‘दंश’ कथासंग्रहका कथाकार उनी। पाठकबाट आएका प्रतिकृयाबाट निकै उत्साहित देखिन्थे। उसो त बजारमा खोजीखोजी ‘दंश’ पढिन थालेको छ। हामी उतैतर्फ लाग्यौं। ‘नेपाली समाजलाई विभिन्न समस्याले डसेका छन्। यसबाट उम्कनु छ।’ कथाकार शान्त भावमा प्रवेश गरे,‘यहाँ शान्ति भड्किएको छ, हामी शान्तिको कामना गर्न सक्छौँ।’
_x000D__x000D_
दिनमान लेखकको जिम्मेदारीप्रति दृढ छन्। कथामा समस्या मात्र औंल्याइए भन्ने पनि भेटिन्छन्। तर, कतिपय समुदाय आफूले भोगिरहेको समस्याप्रति अनभिज्ञ छन्। त्यो समस्याको पहिचान गराउनु नै लेखकको पहिलो उद्देश्य हुनुपर्ने दिनमानको दाबी छ। उनी भन्छन् ‘कथामा मैले समस्या मात्रै औंल्याएको छैन, समस्याको पहिचान गराएको छु।’
_x000D__x000D_
वास्तविक समुदायको कथा
_x000D_सर्लाहीको मुर्तियामा जन्मिएका दिनमान। तराईको समाजमा व्याप्त समस्यामा हुर्किएका उनी आफू थुप्रै समस्याको भागी भएको महसुस गरेका छन्। ‘तिनै समस्या लेखनको आधार बने’। उनी भन्छन्।
_x000D__x000D_
दिनमानकाे लेखनले तराईका निम्नवर्गीय मानिसप्रति सहानुभूति राखेको छ। उनका कथाका पात्र समाजका सजीवझैं लाग्छन्। पात्रका पीडा पनि सजीव छन्। उनी एउटा घटना सम्झन्छन्, ‘काभ्रेको पनौतीमा केही वर्षअघि प्रहरीबाट नै दुई युवती बलात्कृत भए। त्यस घटनाले म निकै आजित भएँ,’ गम्भीर भाव पुगेका दिनमान फेरि बाेले, ‘राष्ट्रको पहरेदार भनिने प्रहरीबाट नै महिला सुरक्षित नहुनु कति डरमर्दो कुरा हो।’
_x000D__x000D_
सोही घटनाले रन्थनिएपछि उनले 'दंश' कथा लेखे।
_x000D__x000D_
जुनकथाले समाजमा महिलाको अवस्थाको प्रतिनिधित्व गर्छ। त्यसैगरी, महिलाको भूमिका समाजले नबुझेकोमा उनको चिन्ता छ। ‘महिलालाई समाजले नबुझ्नु कति डरमर्दो छ!’ उनी चिन्ता प्रकट गर्छन्। त्यसैले गम्भीर भएर उनले ‘चियाको बाफ’ कथा लेखे। कथामा यो संसार महिलाले नै थेगेका छन्, नारीविना सृष्टि नै चल्दैन, सहपात्रको रुपमा देखा परेको नारीको भूमिका पुरुषभन्दा धेरैमाथि छ भन्ने कुराको प्रमाण जुटाएका छन्।
_x000D__x000D_
द्विविधामा लेखक
_x000D__x000D_
‘लेखनमा पात्र चयन गर्न निकै कठीन छ,’ दिनमान भन्छन्, ‘लेखकले पात्रसँग मित्रता गाँस्नु झन् चुनौतीपूर्ण छ।’ आफूले कथा लेख्दा पात्रलाई अन्यायमा पार्नु नहुने उनको बुझाइ छ।
_x000D__x000D_
कथाभित्रका पात्र नै समाजका प्रतिनिधि पात्र हुने हुनाले लेख्दा ख्याल गर्नुपर्ने दिनमान बताउँछन्। ‘कहिलेकाँही कथामा पात्र अन्यायमा परेकी भन्ने डर हुन्छ,’ उनी लेखकको पीडा सुनाउँछन्, ‘फेरि पात्रलाई न्यायदिने क्रममा कथाको मूल सन्देश पनि त विगार्नु भएन।’
_x000D__x000D_
कथा लेख्छु भनेर लेख्दैमा कथाले पूर्णता नपाउने उनको दाबी छ। पटक पटक पात्रसँग संवाद गरेर, पात्रलाई सुहाउँदो परिवेश निर्माण गरेर उपयुक्त अवस्थाको सिर्जना भइसकेपछि मात्र कथाको आकार बन्ने उनको अुनभव छ। ‘कहिलेकाहीँ गरिब पात्रको कथा लेख्दा गरिबीलाई हेपेजस्तो नहोस्,’ उनी भन्छन्।
_x000D__x000D_

_x000D__x000D_
पात्रलाई न्याय नगरेकै कारण कतिपय लेखकले मुद्धा खेप्नुपरेको घटना उनी सुनाउँछन्। त्यसैले लेख्छु भनेर मात्र कथा नलेखिने उनको धारण छ। लेखकमा जिम्मेवारी बोध हुनुपर्ने उनको दाबी छ। तर, यही जिम्मेवारीलाई बहन गर्न नसक्नाले नै समस्या निम्तने दिनमानको भनाइ छ।
_x000D__x000D_
भन्छन्, ‘समाजलाई नियालेर बुझ्न सक्नु नै जिम्मेवारी बोध हो।’ लेखकमा भएको संवेदनशीलताले नै जिम्मेवारी बोध गराउने उनको बुझाइ छ।
_x000D__x000D_
पाठककाे मस्तिष्कमा दंश
_x000D__x000D_
दिनमान अहिले काभ्रेकाे बनेपा बस्छन्। लेखनमा संघर्ष गरिरहेका उनलाई आफैंसँग दौड जित्नु छ। उनीमाझ केही पाठक गुनासो पनि गर्छन्, ‘आफ्नो जाति विशेषको कथा पनि लेख्नु पर्यो।’ तर, आफू नेपाली भएको कारण नेपालीको कथा लेखेको उनी बताउँछन्। आम नेपालीको जनजीवनको कथालाई उनी आफ्नो कथाको विषयवस्तु बनाउनुपर्ने ठान्छन्।
_x000D__x000D_
सबै राष्ट्रिय पत्रिकामा उनका कथा छापिन्छन्। धेरैजसोले उनको कथा पढेका छन्। तर, उनी कुनै गुट, उपगुटमा आबद्ध छैनन्। उनी भन्छन्, ‘मेरा लागि सबै प्रिय छन्। सबैसँग मिल्छु र गुटको आवश्यकता छैन।’
_x000D__x000D_
गुटमा नहुनु अहिले नेपाली साहित्यको क्षेत्रमा अनौठो हुन जान्छ। जो गुटमा छैन उसको चर्चा कुनै वृत्तमा हुँदैन। तर, दंशको चर्चा अहिले सुस्तरी आफैं पाठकमाझ भइरहेको छ। जसले दंश कथा पढ्छ उसको मन, मस्तिष्कमा एकपटक अवश्य 'दंश' गर्ने छ। यो कथाकारको ठम्याइ हो।
_x000D__x000D_
अचानक भेटिएका लेखक
_x000D_दिनमान बैंकमा चेक साट्न गएका थिए। त्यतिबेला उनलाई देखेर क्यासिएर अचम्मित भए। परिचितझैं गरी क्यासियरले दिनमानलाई प्रश्न गरे,‘तपाईं त दंश कथासंग्रहको लेखक जस्तै पो लाग्यो।’
_x000D__x000D_
दिनमानले मुृस्कुराउँदै जवाफ दिए, ‘हजुर म सो कथा संग्रहको लेखक नै हुँ।’ क्यासियरले आफूलाई कथा मन परेको भन्दै खुसी प्रकट गर्दा दिनमान पुलकित भए।
_x000D__x000D_
यसरी अपरिचित मानिसले पनि परिचितझैं व्यवहार गर्दा दिनमान मख्ख छन्। यो हुनुमा आफ्नो कथाको प्रभाव ठान्छन् उनी। थुप्रै पटक यस्ता घटना भएका छन्। ‘कथा लेख्नुको सन्तुष्टी यहाँ आएर मिल्छ, जब पाठकले कथा रुचाइदिन्छन्,’ दिनमान खुसी व्यक्त गर्छन्,’ ‘तर कहिलेकाहीँ त्यस्ता पाठक पनि भेटिन्छन्, जो आफ्नै कथाका पात्रसँग मिल्दाजुल्दा हुन्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।