काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ।
यसअघि असोज १० गतेका लागि तोकिएको अधिवेशन लगातारको वर्षाका कारण प्रभावित भएपछि निर्वाचन समितिले असोज १३ गतेभित्र आफूअनुकूल मितिमा अधिवेशन गर्न जिल्लाहरूलाई विकल्प दिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ। भोलि असोज १२ गते २९ जिल्लामा तथा असोज १३ गते ६ जिल्लामा अधिवेशन गर्ने तयारी छ। इलाममा भने असोज १४ गते क्षेत्रीय अधिवेशन गर्ने तय भएको छ।
निर्वाचन समितिका अनुसार पर्सी असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा अधिवेशन हुनेछ भने इलाममा असोज १४ गते अधिवेशन हुनेछ। अन्य १७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार असोज १० गते नै अधिवेशन सम्पन्न गरिसकेका छन्।
यसैबीच, मनाङ, मुस्ताङ र बैतडीले क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेका छन्। संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा भने निर्वाचन प्रक्रिया जारी रहेको समितिले जनाएको छ। बाँकी केही जिल्लामा मिति तय नभए पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ।
क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुने भएकाले कांग्रेसको महाधिवेशन प्रक्रियामा यसलाई महत्वपूर्ण चरणका रूपमा लिइन्छ। महाधिवेशन प्रतिनिधि बन्ने दौडमा केन्द्रीय नेतादेखि युवा नेता तथा कार्यकर्तासम्म चुनावी मैदानमा छन्। चर्चित कलाकार र विभिन्न पेसामा आबद्ध व्यक्तिहरूले समेत महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।
महाधिवेशन प्रतिनिधि बन्ने प्रतिस्पर्धा विशेष चासोको विषय बनेको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन तथा महासमिति बैठकमा सहभागी हुन र केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिनसमेत महाधिवेशन प्रतिनिधि हुनुपर्ने भएकाले क्षेत्रीय अधिवेशनमा प्रतिस्पर्धा बढेको हो। उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिसँग फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत मत मागिरहेका छन्।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट महिला, खुला, युवा तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व हुने गरी महासमिति सदस्यसमेत चयन गरिनेछ।
प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ। प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति, सचिव र सहसचिवसहितका पदाधिकारी निर्वाचित हुने व्यवस्था छ।
कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन हुनेछ। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसको अधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।