काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा उनले एकातर्फ देश विपत्तिको मारमा पिल्सिरहेको छ भने अर्कोतर्फ बजार उद्दण्ड हुँदा समेत सरकार मौन रहेको टिप्पणी गरे।
उनले आफ्नो सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको भन्दै सरकारको तीखो आलोचना गरे।
‘प्याज, चिनी, चामल र तेलजस्ता अत्यावश्यक चिजको भाउ अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ,’ उनले भने।
सांसद प्रसाईंले नवनियुक्त उद्योग मन्त्रीलाई शुभकामना दिँदै उनको भूमिका कस्तो हुन्छ भनी प्रश्न गरे। ‘नयाँ मन्त्रीज्यूको भूमिका यस पटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो नहोस्। यो कालोबजारी नियन्त्रण गर्न साचिक्कै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने।
उनले उपत्यकाको सार्वजनिक यातायातको दयनीय अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराए । उनले सवारी साधनहरूमा भेडा–बाख्रा कोचेजस्तै क्षमताभन्दा बढी मान्छे कोचेर ओसार्ने गरिएको उल्लेख गर्दै यसले सर्वसाधारणलाई दैनिक जीवनमा सास्ती थपेको बताए।
उनले गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई प्रश्न गरे, ‘के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र ? सरकारको यो मौनता र अक्षमताले देशको अस्तित्व र उपस्थितिलाई गम्भीर प्रश्न उठाइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।