काठमाडौं– इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा चारै खेल जित्दै समान १२ अंक जोडेका छन्। गोलअन्तरका आधारमा रोमा शीर्ष स्थानमा छ भने इन्टर दोस्रो स्थानमा छ।
उडिनेजेविरुद्ध इन्टरले सुरुआतमा कठिनाइ बेहोरेको थियो। उडिनेजेले खेलको पहिलो १६ मिनेटमै दुई गोल गर्दै इन्टरमाथि दबाब बनाएको थियो।
जेम्स अबान्क्वाले नवौं मिनेटमा हेडमार्फत उडिनेजेलाई अग्रता दिलाए। त्यसको सात मिनेटपछि जुर्गेन एकेलेन्काम्पले गोल गर्दै अग्रता २–० मा पुर्याए।
तर‚ साबिक विजेता इन्टरले खेलमा पुनरागमन गर्यो। कार्लोस अगुस्टोले २६औं मिनेटमा करिब ३० यार्ड टाढाबाट गोल गर्दै अन्तर घटाए। निकोलो बरेल्लाले पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा बराबरी गोल गरे। त्यसपछि इन्टरले थप तीन गोल गर्दै ५–३ को जित निकाल्यो।
अर्को खेलमा कोमोले घरेलु मैदानमा पार्मालाई २–१ ले हराउँदै अंकतालिकाको शीर्ष तीनमा स्थान बनाएको छ।
पहिलो हाफको मध्यतिर ज्याकोबो रामोनले निको पासको प्रहारलाई गोलमा परिणत गर्दै कोमोलाई अग्रता दिलाए। खेल सकिन सात मिनेट बाँकी रहँदा गोलमुखमा भएको भिडन्तपछि काइकीले दोस्रो गोल थपे। इन्जुरी समयमा जोसे डेभिड रोमेरोले पार्माका लागि एक गोल फर्काए।
कोमो १० अंकसहित तेस्रो स्थानमा छ। समान १० अंक जोडेको लाजियो गोलअन्तरका आधारमा चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।