काठमाडौं– रियल मड्रिडले शनिबार ला लिगामा रायो भायेकानोलाई ४–१ गोलले पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे।
जितसँगै रियलले ला लिगामा १२ अंक जोडेको छ। रियलको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरीमा छ। बार्सिलोनाले आइतबार लेभान्तेसँग खेल्नेछ।
एमबाप्पेले खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत रियललाई अग्रता दिलाए। उक्त गोलसँगै एमबाप्पेको यस सिजनको गोल संख्या ६ पुगेको थियो।
त्यसको तीन मिनेटपछि कारेरासले एमबाप्पेसँग पास आदानप्रदान गर्दै रियलको अग्रता दोब्बर बनाए।
३४औं मिनेटमा जुड बेलिङ्घमले रियलको तेस्रो गोल गरे। दोस्रो हाफमा रायोले खेलमा सुधार गर्दै रियलमाथि दबाब बढायो। ५१औं मिनेटमा सर्जियो कामेलोले रियलका इब्राहिमा कोनाटेको खुट्टाबीचबाट बल छिराउँदै गोल गरेपछि रायोले अन्तर ३–१ मा झारेको थियो।
इन्जुरी समयको पहिलो मिनेटमा रियलले काउन्टर अट्याकमार्फत चौथो गोल गर्यो। एमबाप्पेले गोल गर्दै आफ्नो गोल संख्या सबै प्रतियोगितामा ६ खेलबाट सात पुर्याए।
शनिबारकै अन्य खेलमा इस्पानियोलले रोबर्टो फर्नान्डेजको सुरुआती दुई गोलको मद्दतमा ओसासुनालाई २–० ले हरायो। रेसिङ सान्टान्डरले भने पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै उत्कृष्ट लयमा रहेको अलाभेसलाई २–१ ले पराजित गर्यो।
सान मामेसमा भएको अर्को खेलमा एल्चेले दोस्रो हाफमा फाकुन्डो बुओनानोटेको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। तर‚ एथलेटिक क्लबका कप्तान इनाकी विलियम्सले खेल सकिन ११ मिनेट बाँकी रहँदा बराबरी गोल गरेपछि खेल १–१ मा टुंगियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।