काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यबारे १३औं दिनसम्मको रिपोर्ट दिएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित मित्रराष्ट्रका विशेषज्ञ टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोजीलाई निरन्तरता दिएको जानकारी दिएका छन्।
उनले रसुवागढी जलविद्युत् आयोजनामा बाढी आएको दिनदेखि खोजी सुरु गरिए पनि कठिन भौगोलिक अवस्था र हेलिकप्टर अवतरण गर्न नसक्दा समस्या भएको बताएका छन् । प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म कोही फेला परेको छैन। मिनी एस्काभेटर प्रयोग गरी खोजी जारी छ।
लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा दुई शव फेला परेका छन्। चिलिमे जलविद्युत् आयोजनामा पनि करिब ९० मिटरभित्र पुगेर दुई शव फेला पारिएको उनले जानकारी दिएका छन्।
उनका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा थर्मल ड्रोनलगायत प्रविधिबाट खोजी गरिएको थियो। त्यहाँ एक शव फेला परेको तथा भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको पनि बताएका छन् ।
यस्तै प्रधानमन्त्री शाहले नुवाकोटको त्रिशूली–३ ‘ए’ आयोजनामा सुरुङ पत्ता लगाउन कठिन भएपछि ६ वटा एस्काभेटर, विस्फोटक पदार्थ, कम्प्रेसर र ड्रिलिङ मेसिन प्रयोग गरिएको र दौ १९ गते दुई जनाको उद्धार र एक शव फेला पारिएको बताएका छन् । थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेराबाट खोजी जारी रहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले दिएको जानकारी अनुसार त्रिशूली–३ ‘बी’ आयोजनामा सुरुङभित्र १.७ किलोमिटरसम्म खोजी गर्दा एउटा गाडी फेला परेको छ भने बाढीले पुरिएका आयोजना क्षेत्रका आवासीय तथा कार्यालय भवनको समेत उत्खनन भइरहेको छ।
विद्युत् आयोजना क्षेत्रमा मात्रै नभई समग्र प्रभावित क्षेत्रमा बेपत्ताको खोजीलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता उनले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।