विराटनगर– कोशी प्रदेशका सत्ता सहयात्री नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेका छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको कार्यदलले तयार पारेको कार्यक्रममा बजेट पुनरवलोकनदेखि गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउनेसम्मका विषय समेटिएका छन्।
साझा कार्यक्रममा चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई थप सन्तुलित र व्यवस्थित बनाउन पुनरवलोकन गर्ने उल्लेख छ। पहाडी जिल्लामा किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणका लागि अध्ययन गरी ठोस नीति बनाउने तथा अनियन्त्रित बसाइँसराइ रोक्न एकीकृत ग्रामीण विकास प्राधिकरण गठन गरी एकीकृत बस्ती विकास गर्ने प्रस्ताव गरिएको छ।
जनस्तरबाट माग हुँदै आएको भन्दै प्रचलित कानुनको सीमाभित्र रही स्थानीय मदिरा उत्पादन तथा बजारीकरण र गाँजा खेतीलाई कानुनी दायरामा ल्याउन आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता पनि कार्यक्रममा राखिएको छ।
स्वास्थ्यतर्फ प्रत्येक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्यामा स्तरोन्नति गर्ने, धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल र मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना छ।
कृषिमा चिया, कफी, दूध र अलैँची उत्पादन प्रवर्द्धन तथा यान्त्रीकरणमा जोड दिइएको छ। मुख्यमन्त्री कार्कीले साझा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गरी सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।