काठमाडौं– नेपाली कांग्रेसभित्रको विवाद मिलाउन संस्थापन पक्ष लचिलो देखिएको छ। सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गत पुस १० गते टुंग्याइएको क्रियाशील सदस्यतालाई मान्यता दिँदै नवीकरण गरेका तर डिजिटल रूपमा अद्यावधिक नगरेका सदस्यलाई पनि १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका व्यक्तिबाहेक सबै क्रियाशील सदस्यले महाधिवेशनमा सहभागी हुन पाउनेछन्। संस्थापन इतर पक्षले लामो समयदेखि यही माग गर्दै आएको थियो।
सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी एकताका लागि इतर पक्षको माग सम्बोधन गरिएको बताए। उनका अनुसार महाधिवेशनको कार्यतालिका समेत सहमतिका लागि संशोधन गर्ने तयारी छ। हाल असोज ४ गते वडा अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ।
बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टीभित्र सहमति कायम गर्न महाधिवेशन कात्तिक १७ देखि १९ गतेसम्म सार्न प्रस्ताव गरेका छन्। उनले पुरानो र वर्तमान कार्यसम्पादन समितिलाई समायोजन गरी आवश्यकताअनुसार केन्द्रीय समिति विस्तार गर्नुपर्ने सुझावसमेत दिएका छन्।
महाधिवेशन सार्ने विषयमा संस्थापन पक्ष सकारात्मक देखिए पनि सर्वोच्च अदालतमा विचाराधीन दुई मुद्दा बाधक बनेका छन्। ती मुद्दा फिर्ता भए महाधिवेशन सार्न सकिने विषयमा छलफल भइरहेको कांग्रेसका एक नेताले बताए।
यसैबीच कांग्रेसले आगामी महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरेको छ। पालिका सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिलाई समेत पदेन महाधिवेशन प्रतिनिधि बनाउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।