काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ठूलो जोखिम उत्पन्न हुँदा ५० जना कैदीबन्दी भागेको र सुरक्षाकर्मीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएको खुलासा भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमार्फत भदौ १० गतेको घटनाबारे जानकारी दिँदै बाढीका बेला कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले देखाएको साहसको प्रशंसा गरेका हुन्।
प्रधानमन्त्रीका अनुसार उक्त कारागारमा त्यतिबेला ९२३ जना कैदीबन्दी रहेका थिए। भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै कारागार क्षेत्रतर्फ बढेपछि सुरक्षाकर्मीले तत्काल जोखिमको आकलन गरी दुईवटा भवनमा रहेका सबै कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए।
कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खालसमेत बाढीले भत्काउँदै लगेपछि अवस्था थप जोखिमपूर्ण बनेको थियो। बाढी लेदोसहित कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म पुगेको प्रधानमन्त्री शाहले बताएका छन्।
यही क्रममा बाढीको मौका छोपेर कारागारको पर्खाल र गेट तोड्दै ५० जना कैदीबन्दी करिब १०० मिटरसम्म भागेका थिए। तर सुरक्षाकर्मीले उनीहरूलाई पुनः नियन्त्रणमा लिन सफल भएका थिए।
भाग्न नपाएका कैदीबन्दीबाट समेत सुरक्षाकर्मीमाथि आक्रमण भएको र त्यस क्रममा केही सुरक्षाकर्मी घाइते भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। बाढी र कारागारभित्रको जोखिमका बीच सुरक्षाकर्मीले वरपरका स्थानीय बासिन्दाको ज्यानसमेत जोगाउन भूमिका खेलेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले घटनाका बेला कारागारको सुरक्षामा खटिएका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले धैर्य र हिम्मत नगुमाएको उल्लेख गरेका छन्।
बाढीपछि पनि सुरक्षाकर्मीको अवस्था सहज छैन। उनीहरू बस्ने ब्यारेक र कार्यालय अझै लेदोमा पुरिएको, कारागारसम्म पुग्ने पहुँचमार्गसमेत अस्तित्वमा नरहेको तथा खानेपानीको व्यवस्था प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन्।
यस्तो अवस्थामा सुरक्षाकर्मीले खेतका आलीलाई बाटो बनाएर टाढाबाट आफैँ पानी बोकी कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने तथा उच्च मनोबलका साथ ड्युटीमा खटिइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले यो घटना विपद्का बेला सुरक्षाकर्मीले देखाएको साहसको एउटा उदाहरण मात्रै भएको बताएका छन्। भोटेकोशी बाढीका क्रममा सुरक्षाकर्मीले कैयौँ उदाहरणीय काम गरेको भन्दै उनले उनीहरूको योगदानको प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।