काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवाको भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्ताे प्रस्ताव पारित गरेको हाे ।
बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे समेत छलफल भएकाे नेकपाले जनाएकाे छ ।
बैठकले बाढीको प्रभाव न्यूनीकरण तथा दीर्घकालीन समाधानका लागि खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना र अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, व्यावसायिक राहत, सुरक्षित आवास योजना, जोखिम मूल्यांकन, राष्ट्रिय जलवायु तथा विपत् कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास तथा द्रुत प्रतिकार्य टोली गठन गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
जलवायु परिवर्तनका कारण बढ्दै गएको विपत्को जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय जलवायु न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुपर्ने बैठकको निष्कर्ष छ । विपत् व्यवस्थापनमा राष्ट्रिय एकता र प्रभावकारी समन्वय आवश्यक रहेको पनि नेकपाले जनाएको छ ।
पार्टीले पारित गरेको २४ बुँदे प्रस्तावमा विपत्पछिको तत्कालीन उद्धार तथा राहतदेखि सुरक्षित आवास, पूर्वाधार पुनर्निर्माण, जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र भविष्यमा हुन सक्ने विपत्का लागि पूर्वतयारीसम्मका विषय समेटिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।