काठमाडौं– कांग्रेस सभापति गगन थापाले पार्टीका जिल्ला अधिवेशन सार्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले भोटेकोशी र त्रिशूली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरेका हुन् ।
उनले अहिले अधिवेशनभन्दा पनि बाढी पीडितको राहत र उद्धार प्राथमिकतामा रहेको बताएका हुन् । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समिति मार्फत कार्यतालिका सार्वजनिक गरेको थियो । तर, विपद्को गम्भीर अवस्थालाई मध्यनजर गर्दै थापाले यी जिल्लाहरूमा अधिवेशनको मिति परिमार्जन गर्न प्रस्ताव गरेका हुन् ।
बैठकमा थापाले भनेका छन्, ‘हामीलाई वैधानिक बाध्यता छ, असोज १६ गते कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा सुरु हुन्छ र यो तिथि परिवर्तन गर्न सक्ने सुविधा हामीसँग छैन । तर, बाढी र पहिरोले आक्रान्त पारेका रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने वातावरण मैले देखिनँ ।’
थापाले ती जिल्लाहरूको स्थलगत भ्रमणका क्रममा मानिसहरू आफ्ना आफन्त र घरबासको चिन्तामा रहेको उल्लेख गर्दै रामेछाप र गोरखा जस्ता जिल्लाका मानिसहरू पनि आफ्ना हराइरहेका परिवारका सदस्य खोज्न बाढी प्रभावित क्षेत्रमा पुगेको बताए । उनले भने, ‘यस्तो मानवीय सङ्कटको घडीमा अधिवेशनमा जुट्न सम्भव छैन ।’
उनले १५ औँ केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् । अहिले कांग्रेसको कार्यसम्पादन समितिमा वडा अधिवेशनको नयाँ कार्यतालिका र विपद् व्यवस्थापनमा पार्टीको भूमिकाबारे छलफल जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।