काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायसम्म अन्योल देखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारका सकारात्मक काममा आफ्नो पार्टीको सहयोग र समर्थन रहने तर गलत कामको निरन्तर आलोचना र विरोध गर्ने स्पष्ट पारे ।
प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकहरू राष्ट्र र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ । शुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ । नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ ।’
उनका अनुसार सरकारले अघि सारेका कामको मूल्यांकन गर्दै सकारात्मक प्रयासमा साथ दिने र गलत गतिविधिको विरोध गर्ने नीति पार्टीले सुरुदेखि नै लिँदै आएको छ । यद्यपि, पछिल्ला गतिविधिका संकेतहरू भने सकारात्मक नरहेको उनको टिप्पणी थियो ।
प्रचण्डले मुलुकको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिए । लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको संरक्षणका लागि राजनीतिक दलदेखि नागरिक समाजसम्म सबै पक्ष एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
उनले राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक नेतृत्व, कर्मचारी तथा सचेत नागरिकलाई आग्रह गरे ।
‘सबभन्दा ठूलो कुरो राष्ट्र नै हो । हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र हामीले लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता, लोकतन्त्र यसको रक्षामा केन्द्रित हुने आवश्यकता छ,’ प्रचण्डले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।