काठमाडौं– सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका पीडितको गोपनीयता, सुरक्षा र मानवीय मर्यादा कायम राख्दै जिम्मेवार पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
बाढीपछि होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका, परिवारका सदस्य गुमाएका तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकले आश्रय लिइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले पीडितको अवस्थालाई सनसनीपूर्ण ढंगले प्रस्तुत नगर्न आग्रह गरेका हुन्।
सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न तथा बालबालिका र अन्य संवेदनशील व्यक्तिको पहिचान खुल्ने तस्वीर वा विवरण उनीहरूको सहमतिबिना सार्वजनिक नगर्न उनले सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
उद्धार तथा राहत व्यवस्थापनमा अवरोध नपुग्ने गरी समाचार संकलन र प्रसारण गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले विपद्का पीडितको दुःख समाचारको विषय भए पनि सनसनी फैलाउने सामग्री बन्न नहुने बताएका छन्।
उनले तथ्य र सत्यको खोजी गर्दै पत्रकारिताको मूल धर्म पूरा गर्न तथा त्यससँगै पीडितको मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको मूल्यलाई समेत ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।