काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्धारका लागि सरकारका सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेका छन्।
सुरुङभित्रबाट शुक्रबार दुई जनाको सकुशल उद्धार भएसँगै शाहीले सामाजिक सञ्जालमार्फत उद्धार कार्यलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्। उनले एक–एक जीवन बचाउन राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने बताएका छन्।
‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन्, उद्धार गरिदिनुस् सरकारलाई भन्दा हामीलाई गाली गर्नेहरू हिजो मान्छे जिउँदा छैनन्, हिलो तान्ने मेसिन छैन, उद्धार गर्न सकिँदैन भन्दा ताली बजाउनेहरूलाई आजको वास्तविकताले जवाफ दिएको छ—मान्छे जिउँदै छन्, अझै जिउँदै छन्,’ शाहीले भनेका छन्।
उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट शुक्रबार बिहान मात्र दुई जनाको उद्धार गरिएको छ।
उनका अनुसार मेकानिकल इन्जिनियर सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको न्यौपानेले बताएका छन्।
‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ उनले भने। राप्रपाका सांसद शाहीले आशा रहेसम्म उद्धार कार्य रोक्न नहुनेमा जोड दिएका छन्। ‘आशा रहेसम्म उद्धार रोक्नु हुँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।