नुवाकोट– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनस्र्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन्।
छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनस्र्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
उनले तत्कालीन राहतसँगै प्रभावित परिवारको सुरक्षित तथा दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्। साथै, होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।