काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले हालैको बाढी र पहिरोले नागरिकको ज्यान र धन सम्पत्ति मात्र नभई हजारौँका सपना समेत बगाएको बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपद्ले निम्त्याएको मानवीय सङ्कटप्रति सरकारको संवेदनहीनतालाई लिएर कडा आलोचना गरिन् ।
सांसद शर्माले बागलुङ जिल्लाका १६ जना नागरिक अझै बेपत्ता रहेको तथ्य प्रस्तुत गर्दै उनीहरूको अवस्था सार्वजनिक गर्न र खोजी कार्यलाई तीव्रता दिन माग गरिन् । उद्धार र खोजी कार्यमा सरकारले देखाएको सुस्तताले पीडित परिवार थप पीडामा परेको उनले बताइन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको हालैको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शर्माले भनिन्, ‘अन्तरिक्षमा गएर मानव खोजी गर्ने युगमा सुरुङभित्र खोजी गर्नुको औचित्य छैन भन्ने प्रधानमन्त्रीको भनाइ अत्यन्तै खेदजनक छ ।’ सरकारले आधुनिक प्रविधिको प्रयोग गरेर आफ्ना नागरिकको ज्यान जोगाउनुपर्नेमा उल्टै गैरजिम्मेवार तर्क अघि सारेको उनले बताइन् ।
उद्धार कार्यमा सरकारको नीति स्पष्ट नभएको भन्दै उनले आलोचना गरिन् । सुरुमा विदेशी विशेषज्ञ टोलीलाई उद्धारका लागि अनुमति नदिने र पछि ढिला गरी अनुमति दिएर के अर्थ रहन्छ भन्दै उनले प्रश्न गरिन् । समयमै सही निर्णय लिन नसक्दा धेरै नागरिकको ज्यान जोखिममा परेको उनले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।