काठमाडौं– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री संसदमा आएर कसैको अनुहारै नहेरी फर्किने गरेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले संकटको समयमा प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । आफूहरू सरकारको साथमा रहेको बताउँदै आए पनि प्रधानमन्त्रीले अरूका अनुभव र सुझावलाई महत्त्व नदिएको उनको आरोप छ ।
‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ । यो के तरिका हो ? उहाँ त हामी सबैको प्रधानमन्त्री हो नि,’ प्रचण्डले भने, ‘हामी तपाईंकै साथमा छौँ भनेर भनिराखेका छौँ । तैपनि कसैको अनुहार नहेरी जानुहुन्छ । यो तरिकाले त चल्दैन।’
संसद्लाई विश्वासमा लिनु भनेको प्रतिपक्षी सांसदलाई मात्रै नभई आफ्नै दलका सांसदलाई समेत विश्वासमा लिनुपर्ने उनले बताए । प्रधानमन्त्रीले सबैको अनुभव र सुझावलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
संकटको समयमा जनताले आश्वासन र सामाजिक सञ्जालका पोस्ट नभई मैदानमा सरकारको उपस्थिति खोजेको प्रचण्डले बताए । ‘देशले नेतृत्व खोजेको छ । जनताले आश्वासन होइन, सोसल मिडियामा पोस्ट होइन, मैदानमा सरकारको उपस्थिति खोजेका छन्,’ उनले भने ।
प्रधानमन्त्रीलाई प्राप्त अवसरलाई सदुपयोग गर्दै सबैको विश्वास जित्न नसके समयले दिएको अवसर फेरि नपाइन सक्ने चेतावनीसमेत प्रचण्डले दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।