काठमाडौं– गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसविरुद्ध विद्रोहको सिलसिला जारी छ। यही क्रममा गगनविरुद्ध उभिएको समूहको बैठक बुधबार अपराह्न १ बजे बस्ने भएको छ।
डा. शशांक कोइरालाको अध्यक्षतामा बस्ने बैठकले १५औँ महाधिवेशनबारे छलफल गरी निर्णयमा पुग्ने बताइएको छ।
माधिवेशन तयारी समितिका संयोजक तथा पूर्वमहामन्त्री कोइरालाको अध्यक्षतामा चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा मूलतः तीनवटा एजेन्डामा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले जनाएका छन्।
समसामयिक विषय, १५औँ महाधिवेशन र विविध एजेन्डामा छलफल हुने बैठकले गत साउन २९ देखि ३१ गतेसम्म भएको राष्ट्रिय भेलाले शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने बताइएको छ।
देउवा पक्षले बेग्लै महाधिवेशनको तयारी गरेको छ। महाधिवेशन तयारीका लागि कोइरालालाई संयोजकका रूपमा अघि बढाउने निर्णय पनि भेलाबाटै भएको थियो।
गत पुसमा भएको पार्टीको विशेष महाधिवेशनमा देउवा र कोइराला पक्षका अधिकांश नेता सहभागी भएका थिएनन्। तिनै नेताहरूलाई समेटेर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको छ।
थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तय गरिसकेको सन्दर्भमा अर्को पक्षले महाधिवेशनको अर्को मिति तय गर्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।