काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन सरकारले स्वास्थ्य निगरानी तथा प्रतिकार्यका गतिविधि तीव्र पारेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका स्वास्थ्य संकटकाल तथा विपद् व्यवस्थापन इकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रणको काम गरिरहेको मंगलबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनका अनुसार बाढीपछि सरुवा रोग फैलिन नदिन विशेष निगरानी तथा प्रतिकार्य योजना लागू गरिएको छ।
प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सहयोगमा थप मेडिकल निगरानी अधिकारी खटिएका छन्। ज्वरो तथा झाडापखालाजन्य रोगको निगरानीका लागि विशेष प्रणाली सञ्चालनमा ल्याइएको छ।
यस्तै, खानेपानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा आवश्यक रोकथामका काम अघि बढाइएको छ। एम्बुलेन्स तथा मानसिक स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा निसंक्रमण तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्नुका साथै माइकिङमार्फत स्वास्थ्य सतर्कतासम्बन्धी जनचेतना फैलाइरहेको छ। मन्त्रालयले परिस्थितिको निरन्तर मूल्यांकन गर्दै आवश्यक प्रतिकार्य अघि बढाइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।