काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारले अघि बढाइरहेका केही गतिविधिका कारण नेपालले अझ गम्भीर विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्ने दाबी गरेकी छन्।
मंगलबारको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा देखिएको विपद् ठूलो भए पनि नेपालीका लागि विपद् अझै नटरेको बताइन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो मुस्ताङ भ्रमण र त्यहाँ युरेनियम उत्खननसँग जोडिएका विषयमा गोप्य कुराकानी भएको हुनसक्नेतर्फ संकेत गर्दै सरकारले यस्ता संवेदनशील विषयमा हात हालेर नेपालीका लागि झनै दर्दनाक परिस्थिति निम्त्याउन लागेको दाबी गरिन् ।
‘अहिले रसुवामा देखिनेगरी ठूलो विपद् भयो। तर अझै हामी नेपालीका लागि विपद् टरेको छैन। यो सरकारले नै अझ ठूला–ठूला विपद् निम्त्याउँछ,’ झाँक्रीले भनिन्।
उनले ग्लोबल वार्मिङ, अतिवृष्टि र अनावृष्टिजस्ता प्राकृतिक कारणसँगै विभिन्न किसिमका ठूला–ठूला डाटा सेन्टर स्थापना गर्ने सरकारी लक्ष्य र युरेनियमसम्बन्धी गतिविधिले पनि जोखिम बढाउन सक्ने बताइन्।
झाँक्रीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र युरेनियमको विषयलाई जोड्दै सरकारले नेपाली नागरिकमाथि प्राकृतिक विपत्तिभन्दा पनि ठूलो विपत्ति निम्त्याउन गइरहेको दाबी गरिन् । झाँक्रीले विपद्का बेला सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगे पनि राजनीतिक नेतृत्वले प्रभावकारी समन्वय गर्न नसकेको आरोपसमेत लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।