काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। करिब १० मिनेटसम्म चलेको उक्त वार्तामा जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा हालै आएको बाढी र पहिरोबाट भएको क्षतिप्रति गहिरो दुःख र समवेदना प्रकट गरेकी छन्।
प्रधानमन्त्री ताकाइचीले बाढीमा बेपत्ता भएका आफ्ना पाँच जना जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धार कार्य गरिदिन नेपाल सरकारलाई आग्रह गरिन्।
जापान सरकारले नेपालका लागि टेन्ट र ब्लांकेटलगायतका आपतकालीन राहत सामग्रीहरू पठाउने निर्णय गरेको र ती सामग्री छिट्टै नेपाल आइपुग्ने जानकारी उनले दिएकी थिइन्।
जापानले अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत सहयोग गर्न वा 'जापान विपद् उद्धार टोली' पठाउने विषयमा तयारी गरिरहेको र यस परिस्थितिको सामना गर्न जापानले आफ्नो क्षमताले भ्याएसम्म सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको जापानको विदेश मन्त्रालयले जनाएको छ।
जवाफमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जापान सरकार र त्यहाँका जनताले देखाएको सहानुभूति, सहयोग र ऐक्यबद्धताको सन्देशप्रति गहिरो कृतज्ञता व्यक्त गरेका थिए। उनले नेपालमा विपद्को वर्तमान अवस्था र नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका प्रयासहरूबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।