काठमाडौं– नेपाल–तिब्बत सीमामा रहेको भोटेकोशीमा अगस्ट २६ मा आएको विनाशकारी बाढी हिमतालको ठूलो हिस्सा भत्किएर त्यससँगै चट्टान र बरफको विशाल प्रवाह नदीमा खसेपछि आएको देखिएको वैज्ञानिकहरूले बताएका छन्।
बाढीको आकार, फैलिएको क्षेत्र र उत्पन्न हुने प्रक्रियाका दृष्टिले यो घटना हिमाली क्षेत्रमा अभूतपूर्व रहेको उनीहरूको भनाइ छ। त्रिभुवन विश्वविद्यालयको विपद् अध्ययन केन्द्रका निर्देशक बसन्तराज अधिकारीले हिमताल पग्लिने अवस्थाबारे लामो समयदेखि अनुसन्धान गर्दै आए पनि अगस्ट २६ को बाढी गम्भीर चिन्ताको विषय बनेको बताए। उनका अनुसार घटना असाधारण थियो।
अगस्ट २६ बिहान करिब ८:४० बजे ल्हेन्दे खोला नदी प्रणालीमा तीव्र गतिमा बाढीको पानी र गेग्रानको विशाल प्रवाह प्रवेश गरेको थियो। नेपाल–तिब्बत सीमाका खोँच हुँदै फैलिएको बाढीले नेपालको रसुवा जिल्लाका नदी उपत्यका तथा तिब्बतको ग्यिरोङ काउन्टीका क्षेत्र डुबानमा पारेको थियो।

आइतबारसम्म नेपालमा ७७८ भन्दा बढीको शव फेला परेको छ। प्रभावित क्षेत्रमा उद्धारका लागि आवश्यक सडक र पुलसमेत ध्वस्त भएकाले खोज तथा उद्धार कार्य कठिन बनेको छ।
ल्हेन्दे खोला भोटेकोशी र त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले उच्च हिमाली भूभागबाट बस्ती रहेका नदी उपत्यकातर्फ तीव्र गतिमा पानी पुग्ने प्राकृतिक मार्ग बनेको थियो। बाढीले गाउँ, सडक, पुल र जलविद्युत् आयोजनाहरू बगाएको वा गेग्रानले पुरेको थियो।
अधिकारीका अनुसार बरफ र चट्टानको ठूलो पहिरो तल खसेर नदीमा पुगेपछि पग्लिँदै पानीमा परिणत भएको र त्यसपछि ठूलो जलप्रवाह नदीको तल्लो क्षेत्रमा आएको देखिन्छ। यो प्रक्रिया भारतको उत्तराखण्डमा २०२१ मा भएको चमोली घटनासँग करिब मिल्दोजुल्दो भए पनि अहिलेको घटना निकै ठूलो भएको उनले बताए।

२०२१ फेब्रुअरी ७ मा उत्तराखण्डको चमोलीस्थित रोन्ती शिखरको उत्तरी भागबाट करिब २ करोड ७० लाख घनमिटर चट्टान र बरफको पहिरो खसेको थियो। चट्टान र हिमतालको बरफ मिसिएको उक्त पदार्थ तीव्र गतिमा गेग्रानयुक्त प्रवाहमा परिणत हुँदै ऋषिगंगा र धौलीगंगा उपत्यकातर्फ बगेको थियो। त्यस घटनामा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने दुई ठूला जलविद्युत् आयोजना ध्वस्त भएका थिए।
अधिकारीले आफ्नो अनुसन्धान अनुभवमा हिमाली भूभागमा यसभन्दा ठूलो बाढीको घटना नदेखेको बताए। ‘ठूलो परिमाणमा बरफ र गेग्रान तल खस्दा उत्पन्न ऊर्जाको हिसाब गर्दा त्यो हिरोसिमामा खसाइएको परमाणु बमबाट उत्पन्न ऊर्जाभन्दा पनि ठूलो थियो,’ उनले दाबी गरे।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जलविज्ञान तथा मौसम विज्ञान विभागका सहायक प्राध्यापक दिवस श्रेष्ठले पनि घटना आफ्नो अपेक्षाभन्दा निकै ठूलो र अभूतपूर्व भएको बताए। वैज्ञानिकहरू हिमताल विस्फोटबाट हुने बाढी (जीएलओएफ) बारे तुलनात्मक रूपमा परिचित भए पनि यति ठूलो परिमाणमा हिमताल भत्किने घटना यस स्तरमा हुने अपेक्षा नगरिएको उनले बताए।

श्रेष्ठका अनुसार लाङटाङ उपत्यकाको प्रसिद्ध लिरुङ शिखरको उत्तरी भिरमा रहेको हिमतालको ठूलो झुन्डिएको भाग भत्किएपछि आकस्मिक बाढी आएको अहिले स्पष्ट हुँदै गएको छ। भत्किएको हिमतालको भाग करिब १ हजार ४०० मिटर उचाइबाट ठाडो रूपमा खसेको उनले बताए।
तर‚ हिमताल भत्किनुको वास्तविक कारण भने अझै निश्चित भइसकेको छैन। हिमतालको तल्लो सतहमा असाधारण रूपमा तापक्रम बढ्नु, ठूलो परिमाणमा नयाँ हिमपात जम्मा हुनु वा सतहमा पग्लिएको पानी तथा हिमतालमाथि बनेका साना तालबाट पानी हिमतालभित्र छिरेर तल्लो सतहसम्म पुग्नुजस्ता कारणले बरफ पग्लिने क्रम र अस्थिरता बढेको हुन सक्ने श्रेष्ठले बताए।
‘हिमताल भत्किनुको ठ्याक्कै कारण निर्धारण गर्न थप अनुसन्धान आवश्यक छ,’ उनले भने।
सुरुका संकेतले झुक्यायो
अगस्ट २६ को बाढीपछि प्रभावित क्षेत्रबाट सार्वजनिक भएका दृश्यहरूको विश्लेषण गर्न वैज्ञानिक समुदायलाई सुरुमा कठिन भएको थियो। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का भूकम्प मापन उपकरणले सुरुमा भूकम्पसँग सम्बन्धित संकेतका रूपमा व्याख्या गरिएको कम्पन रेकर्ड गरेका थिए।

पछि भूकम्पीय अभिलेख र भू–उपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण गर्दा ५.२ म्याग्निच्युडको उक्त जमिनको कम्पन हिमताल भत्किएर त्यसपछि आएको गेग्रानको प्रवाहबाट उत्पन्न भएको देखिएको थियो।
क्यानडाको युनिभर्सिटी अफ क्यालगरीका भू–आकृतिविज्ञ ड्यान शुगरले बाढी आएको केही समयपछि सामाजिक सञ्जालमार्फत गरेका अवलोकन र विश्लेषणले पनि यस घटनाबारे वैज्ञानिक समुदायमा विशेष चर्चा सिर्जना गरेको थियो।
बाढी आएको दिन उनले हिमतालको जिब्रोको एउटा भाग भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका थिए। तर तुलनात्मक रूपमा सानो भाग भत्किँदा त्यति ठूलो बाढी कसरी आयो भन्ने प्रश्न उठाउँदै उनले सोही भिरबाट ठूलो चट्टानी पहिरो खसेको हुन सक्ने सम्भावना पनि औंल्याएका थिए। त्यसबेला प्रभावित क्षेत्रको उपग्रह तस्बिर बादलले ढाकिएकाले थप निष्कर्षमा पुग्न कठिन रहेको उनले बताएका थिए।

काठमाडौं विश्वविद्यालयअन्तर्गत स्कुल अफ साइन्सको वातावरण विज्ञान विभागका प्रमुख रिजान भक्तले घटनाको निर्णायक प्रमाणका लागि थप अनुसन्धान र तथ्यगत प्रमाण आवश्यक रहेको बताए। यद्यपि‚ बाढीको असाधारण परिमाण जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित देखिने उनको भनाइ छ।
नेपालमा मनसुनको समय भए पनि उक्त क्षेत्रमा धेरै वर्षा नभएको तर हिमाली क्षेत्रमा तापक्रम निकै उच्च रहेको भक्तले बताए। उच्च तापक्रमले बरफ पगाल्ने र ठूलो परिमाणमा बरफ पग्लेर तल झर्दा त्यसले चट्टानसमेत बगाउन सक्ने उनले बताए।
‘चट्टानले पानीको बहाव रोक्ने अवरोध बनाएपछि ठूलो ताल बनेको र अन्ततः उक्त अवरोध फुट्दा ठूलो परिमाणमा पानी तीव्र गतिमा तल्लो क्षेत्रमा बगेको हुन सक्ने देखिन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।