काठमाडौं– लाङटाङ लिरुङ हिमालनजिकै करिब ५ हजार २ सय मिटर उचाइबाट खसेको हिउँको ढिक्काले निम्त्याएको भोटेकोशी बाढी असाधारण गतिमा नेपाल–चीन सीमास्थित रसुवागढीसम्म आइपुगेको चिनियाँ अध्ययनले देखाएको छ ।
चिनियाँ अनुसन्धानकर्ताका अनुसार हिउँको ढिक्का खसेपछि माटो र चट्टानसमेत बगाउँदै बाढीले करिब सात मिनेटमै २२ किलोमिटर दूरी पार गरेको थियो । रसुवागढीको सीमा क्षेत्रमा पुग्दा यसको गति प्रतिसेकेन्ड करिब ५० मिटर रहेको अध्ययनले देखाएको छ ।
चाइना एकेडेमी अफ साइन्सेसअन्तर्गतको वातावरण तथा हिमाली जोखिमसम्बन्धी संस्थाका अनुसन्धानकर्ता से पेन्गचेन्गले आइतबार पत्रकार सम्मेलनमा हिउँको ढिक्का चिनियाँ समयअनुसार बिहान १० बजेर ५२ मिनेटमा खसेको जानकारी दिए ।
उनका अनुसार रिमोट सेन्सिङबाट प्राप्त तथ्यांक, अनुगमन विवरण र स्थलगत सर्वेक्षणको विश्लेषणपछि बाढीको प्रकृति र त्यसको गतिबारे निष्कर्ष निकालिएको हो । “टोलीले रिमोट सेन्सिङ मोनिटरिङ डेटा र सूचनाको विश्लेषण तथा स्थलगत सर्वेक्षणपछि यो निष्कर्ष निकालेको हो।” — से पेन्गचेन्ग
सुरुवातमा भूकम्पका कारण हिउँको ढिक्का खसेको अनुमान गरिएको थियो । तर पछिल्लो अध्ययनले भने हिउँको ठूलो ढिक्का उत्तरतर्फ खस्दा उत्पन्न ऊर्जाले नै करिब ५.२ म्याग्नेच्युडको भूकम्प निम्त्याएको हुनसक्ने देखाएको छ ।
बाढीले केरुङ क्षेत्रमा करिब ०.७ वर्गकिलोमिटर क्षेत्र ढाकेको थियो । त्यसक्रममा २७ वटा भवनसहित सीमा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारमा ठूलो क्षति पुगेको चिनियाँ पक्षले जनाएको छ ।
यस घटनापछि हिउँको ढिक्का खसेको क्षेत्रनजिकै दुईवटा तालसमेत बनेका छन् । चीनको अन्नेङ समूहले गरेको अनुगमनअनुसार पहिलो ब्यारियर लेक करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो क्षेत्रफल झन्डै १४ वटा मानक फुटबल मैदान बराबर हो ।
पहिलो तालभन्दा करिब पाँच किलोमिटर माथि दोस्रो ब्यारियर लेकसमेत बनेको अध्ययनमा उल्लेख छ ।
चिनियाँ अनुसन्धानकर्ताहरूले पछिल्लो घटनाले हिमाली क्षेत्रमा प्राकृतिक जोखिमको तीव्रता र पूर्वसूचना प्रणालीको आवश्यकता थप उजागर गरेको बताएका छन् । विज्ञहरूले बढ्दो तापक्रम तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता घटना बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।
उनीहरूले सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रभावकारी अनुगमन, पूर्वसूचना प्रणाली र आपत्कालीन तयारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।