रामेछाप– नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आरोप लगाएका छन्।
मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भएको भन्दै अहिले सरकारको उदासीनताले सो कुरा नै संकटमा परेको बताए। उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका भए पनि सरकारका मन्त्रीहरू हेलिकप्टरको सयरमा रहेका उनले बताए।
‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने।
सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र कसरी स्ट्यण्डबाजी गर्ने भन्नेमा केन्द्रित रहेका उनले बताए। ‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफै उठाएर लैजान्छ, यस्तो स्टण्डबाजीबाट देश चल्दैन’, उनले भने।
ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसलाई नमान्ने गरेको उनको भनाइ छ। ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चश्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाह गरिदिने ?’ उनले भने, ‘लोकतन्त्रको नम्स मान्नु पर्दैन ?’
ढुङ्गेलले सरकारले सुकम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको बताए। ‘डोजले घर भत्काएर बहादुरी हुन्छ र ! कहाँ गयो त्यो अभियान ? टुङ्गियो, सक्कियो ?’ उनले भने।
एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३, २४ को घटनाको दोषी ठहर्याउन १३ दिनसम्म थुनामा राखेको भए पनि सरकारले कुनै कुरा फेला पार्न नसकेको उनले बताए। ‘सस्तो लोकप्रियताको लागि जे पनि गर्ने ?’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।