काठमाडौं– भारतीय कांग्रेस नेता तथा लेखक शशि थरुरले नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता भएको बताएका छन्।
थरुरले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै एनडीटीभीको ‘अन्विक्षा’ कार्यक्रममा लामिछानेले दिएको मन्तव्य प्रभावशाली रहेको बताए।
‘विशेषगरी भारत, चीन र नेपालले एउटै हिमाली पारिस्थितिक प्रणाली साझा गर्ने भएकाले पारिस्थितिक तथा वातावरणीय मुद्दामा तीनै देशबीच अझ बढी सहकार्य हुनुपर्ने उहाँको भनाइले मलाई विशेष रूपमा प्रभावित बनायो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपालले हालै भोगिरहेको प्राकृतिक विपत्तिले वातावरणीय तथा पारिस्थितिक विषयमा क्षेत्रीय सहकार्यको आवश्यकता अझ स्पष्ट पारेको उल्लेख गर्दै थरुरले लामिछानेले अघि सारेको सुझावलाई तीनै देशका सरकारसँग समन्वय गरी अगाडि बढाउने आशा व्यक्त गरे।
भेटका क्रममा भारतीय संसद्को विदेश मामिला सम्बन्धी स्थायी समितिका वरिष्ठ सदस्य रवी शंकर प्रसाद र एनडीटीभीका कार्यकारी सम्पादक राहुल कंवल पनि सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।