विरामीहरु सोध्छन्, 'डाक्टर साव, एन्टिबायोटिक नै खाने र?’ ऐन्टिबायोटिकप्रतिको डर धेरैमा देखिन्छ। यसले शरिर र स्वास्थ्यमा अतिरिक्त प्रभाव पार्छ र कमजोर बनाउँछ भन्ने सोच कतिपय विरामीमा भेटेको छु।
_x000D_
_x000D_
आखिर के हो त एन्टिबायोटिक? यसको प्रयोगमा के सावधानी अपनाउन सकिन्छ? आउनुहोस्, चर्चा गरौं।
_x000D_
_x000D_
एन्टिबायोटिक (प्रतिजैविकी) भन्नेबित्तिकै सामान्यतया संक्रमण निर्मूल गर्न दिइने औषधि भन्ने बुझिन्छ। साधारणतया यो शब्द ब्याक्टेरियाको विरुद्ध काम गर्ने औषधिका निम्ति प्रयोग गरिन्छ।
_x000D_
_x000D_
एन्टिबायोटिक अन्तर्गत धेरै समूह वा वर्गका औषधि पर्छन्, जसले विभिन्न थरीका ब्याक्टेरियालाई मार्ने वा नाश गर्न सहयोग गर्छन्। अरु औषधिका जस्तै एन्टिबायोटिकका पनि वर्ग र औषधि अनुसार सानादेखि गम्भीर खालका साइड इफेक्ट (दुष्प्रभाव) हुन सक्छन्।
_x000D_
_x000D_
सही एन्टिबायोटिकको छनोट कसरी गरिन्छ ?
_x000D_
_x000D_
एन्टिबायोटिक मात्र नभई कुनै पनि औषधिको सही उपयोग भन्नाले आवश्यकताको ठीक पहिचान गरी सही मात्रामा, सही समयका लागि र बिरामीलाई यस सम्बन्धी आवश्यक जानकारी समेत गराएर सही औषधि दिनु हो। औषधि दिएपछि त्यसले काम गरे-नगरेको र साइड इफेक्ट देखिए-नदेखिएको निगरानी समेत गरी बेलैमा सही निर्णय (औषधि परिवर्तन गर्ने वा रोक्ने) गर्नु पनि जरुरी हुन्छ।
_x000D_
_x000D_
सही उपचारका लागि संक्रमणको सही पहिचान गर्नु पहिलो कुरा भए पनि सही पहिचानबाट मात्रै सधैं उपचारका लागि उपयुक्त एन्टिबायोटिकको पहिचान गर्न सकिने अवस्था नहुन सक्छ। संक्रमण अनुसार रगत, पिसाब, खकार, पिप आदिबाट ब्याक्टेरिया र त्यस विरुद्ध काम गर्न सक्ने र नसक्ने एन्टिबायोटिक पत्ता लगाउन गरिने परीक्षणलाई कल्चर र सेन्सिटिविटी परीक्षण भनिन्छ, जुन सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु आफैंमा समस्या हो।
_x000D_
_x000D_
उदाहरणका लागि लक्षण र सामान्य जाँचबुझबाट पिसाबको संक्रमण भएको भनेर निदान (डाइग्नोज) हुन सक्छ। तर, कुनै अवस्थामा कुन जीवाणु (ब्याक्टेरिया) को संक्रमण हो र कुन एन्टिबायोटिक उपयुक्त हुनसक्छ भनेर पिसाबको कल्चर गरेर ब्याक्टेरिया तथा त्यस विरुद्ध काम गर्नसक्ने औषधिको पहिचान गर्नुपर्ने हुनसक्छ। कुनै बिरामी गर्भवती भएको वा कुनै अरु रोग जस्तै मिर्गौला वा कलेजोको रोग आदिका कारण पनि कुनै एन्टिबायोटिक दिन नमिल्ने हुन सक्छ। त्यस्तो अवस्थामा अरु सामान्य बेला पहिलो प्राथमिकतामा पर्ने एन्टिबायोटिकको साटो अरु उपयुक्त एन्टिबायोटिक छनोट गरिन्छ।
_x000D_
_x000D_
एन्टिबायोटिकको दुरुपयोग कसरी हुन्छ ?
_x000D_
_x000D_
सबै संक्रमणका लागि एन्टिबायोटिकले काम गर्दैनन् र जथाभावी तिनको प्रयोग गरेमा हानि बढी हुन सक्छ। यो कुरा जनसाधारणलाई थाहा नभएकाले जाँचबुझ नगराई तथा रोग नै पत्ता नलगाई यस्ता औषधिको सेवन गर्ने प्रवृत्ति व्यापक देखिन्छ। उपयुक्त शिक्षाको अभावले तथा आवश्यक जाँचबुझ उपलब्ध नहुनाले पनि धेरै चिकित्सकले आवश्यक नै नभएको बेलामा पनि एन्टिबायोटिक सिफारिस गर्ने गरेको देखिन्छ।
_x000D_
_x000D_
जनसाधारण तथा कतिपय चिकित्सकमा समेत ज्वरोको उपचारका निम्ति एन्टिबायोटिक प्रयोग गर्ने बानीले गर्दा यसको अनावश्यक रूपमा ठूलो मात्रामा उपयोग भएको देखिन्छ। एन्टिबायोटिकको सबैभन्दा धेरै दुरुपयोग रुघाखोकीको उपचारमा हुने गरेको देखिन्छ। विशेष अवस्थामा बाहेक साधारण रुघाखोकी केही दिनमा आफैं ठीक हुने भाइरस (विषाणु) को संक्रमण हो। धूलो-धूवाँबाट बच्ने, आराम गर्ने तथा सजिलै उपलब्ध हुन सक्ने घरेलु उपचार जस्तै मह, अदुवा र तुलसीको पातको रस सेवन गरेमा रुघाखोकी ठीक पार्न धेरै सहयोग पुग्छ।
_x000D_
_x000D_
रुघाखोकी लाग्दा एन्टिबायोटिकको प्रयोगले लाभभन्दा पनि केवल हानि हुन सक्ने भएकाले तिनको प्रयोग गर्नु नितान्त गलत हो। त्यसैगरी सामान्य पखालामा पनि एन्टिबायोटिकको प्रयोग अनावश्यक र कतिपय अवस्थामा हानिकारक समेत हुनसक्छ। आवश्यक भएको अवस्थामा पनि अनुपयुक्त एन्टिबायोटिक सिफारिस र प्रयोग गरेमा रोगको सही उपचार नहुने त छँदैछ, औषधिको साइड इफेक्ट मात्र झेल्नुपर्ने र जीवाणुले प्रतिरोधशक्ति विकास गर्ने सम्भावना रहन्छ।
_x000D_
_x000D_
एन्टिबायोटिकको दुरुपयोगले कस्ता समस्या आइपर्छन्?
_x000D_
_x000D_
एन्टिबायोटिकप्रति ब्याक्टेरियाको प्रतिरोध विकास हुँदै जाँदा नयाँ प्रभावशाली एन्टिबायोटिक खासै पत्ता लाग्न नसक्नु आधुनिक चिकित्सा विज्ञानको लागि ठूलो चुनौती भएको छ। कतिपय ब्याक्टेरिया विशेषगरी अस्पतालभित्र हुने संक्रमण गराउने केही ब्याक्टेरियाका प्रजातिले उपलब्ध सबै एन्टिबायोटिक विरुद्ध प्रतिरोध विकास गरेकाले यस्तो अवस्था आएको हो।
_x000D_
_x000D_
कतिपय अवस्थामा संक्रमणको सही निदान नहुँदै एन्टिबायोटिक प्रयोग गरेमा समयमा रोगको निदान गर्न धेरै कठिनाइ हुन्छ। त्यसबाट चिकित्सक र बिरामी दुवैले समस्या झेल्नुपर्ने स्थिति आउँछ। कतिपय संक्रमण आफैं ठीक हुने वा थोरै ब्याक्टेरिया विरुद्ध काम गर्ने एन्टिबायोटिकले निको हुने पनि हुन्छ। तर, त्यसमा गलत किसिमले एन्टिबायोटिकको प्रयोग गरेमा बिरामी र चिकित्सकमा एन्टिबायोटिकको दुरुपयोग गर्ने बानी बढाउने खतरा रहन्छ, जुन व्यापक रूपमा एन्टिबायोटिक प्रतिरोध फैलाउने कारण समेत बन्न जान्छ। तसर्थ बिरामी र चिकित्सक दुवैले सावधानीका साथ एन्टिबायोटिकको प्रयोग गर्नु-गराउनु अत्यन्तै आवश्यक छ।
_x000D_
_x000D_
एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै अनावश्यक खर्च र औषधिका साइड इफेक्टका कारण हुने सामान्य वा गम्भीर किसिमका हानिबाट जोगिन सकिन्छ।
_x000D_
_x000D_
दुरुपयोग कसरी घटाउने?
_x000D_
_x000D_
एन्टिबायोटिकको दुरुपयोग घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। रोग र ब्याक्टेरियाको सही पहिचान गर्ने सुविधा ग्रामीण क्षेत्रसम्म भएमा अनावश्यक एन्टिबायोटिकको प्रयोग कम गर्न ठूलो सहयोग पुग्ने कुरा स्पष्ट छ। चिकित्सा शिक्षालाई गुणस्तरी बनाउनु तथा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई यस सम्बन्धमा तालिम दिनु शैक्षिक उपाय हुन्।
_x000D_
_x000D_
नियम अनुसार स्वास्थ्यकर्मीको सिफारिसमा मात्र एन्टिबायोटिकको बिक्री गर्न पाइने भए पनि नियमको पालना नहुँदा दुरुपयोग नियन्त्रण हुन नसकेको देखिन्छ। अत: एन्टिबायोटिकको बिक्री-वितरण विधिवत रुपमा भएको छ कि छैन भन्ने नियमन र अनुगमन गरिनु आवश्यक छ।
_x000D_
_x000D_
यसैगरी जनतालाई पनि स्वास्थ्य शिक्षाद्वारा सुसूचित गराई संक्रमण फैलिन नदिन बेलैमा उपाय अवलम्बन गर्नु पनि महत्त्वपूर्ण उपाय हुन्। यी सबै उपाय अवलम्बन गरी एन्टिबायोटिकको सही उपयोग बढाउँदै दुरुपयोग नियन्त्रण गर्नु अत्यावश्यक छ। यसमा सबै पक्षले समयमै ध्यान दिनु जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।