काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बाढीका कारण वेत्रावती–मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएपछि त्यसलाई हटाएर तत्काल यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ।
बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिजमध्ये आवश्यक स्थानमा जडान गर्ने तयारी भइरहेको छ। भारत र चीनले समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।
पहिलो प्राथमिकतामा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
सडक खुलाउन सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।