काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।
नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ। तर, ११ जनाले मात्रै नाम टिपाएका छन्।
प्रश्न दर्ता गराउनेमा सत्तारूढ दल रास्वपाका सांसद अमरेशकुमार सिंह कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकी छन्।
संसद् सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङले प्रश्न दर्ता गराएका छन्।
त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले नाम टिपाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले पनि प्रश्न दर्ता गराएका छन्।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन्।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन्।
त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।