काठमाडौं– विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार र धितोपत्र तथा बीमा क्षेत्रका गैरकानुनी गतिविधिमाथिको अनुसन्धानमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका चार प्रतिवादीलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ छन्।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेका पौडेलमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवैअन्तर्गत अनुसन्धान भइरहेको छ। महर्जन धितोपत्र सम्बन्धी ऐन तथा मालाकार र श्रेष्ठ बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानको घेरामा थिए।
भट्टको कारोबारसँग जोडिएको कनेक्सन
सीआईबीको अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरूको संलग्नता व्यवसायी दीपक भट्टसँग जोडिएका विभिन्न कम्पनीको लगानी तथा कारोबारसँग देखिएको बताइएको छ।
भट्टको विभिन्न कम्पनीमा भएको लगानी, शेयर कारोबारमा देखिएका अनियमितता तथा बीमा क्षेत्रमा भएका भनिएका गैरकानुनी गतिविधिसँग उनीहरूको प्रत्यक्ष सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोको दाबी छ।
यसअघि नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले समेत सम्बन्धित कम्पनी तथा तिनका पदाधिकारीमाथि वित्तीय अपचलन र प्रचलित कानुनविपरीतका गतिविधिको आशंकामा विस्तृत अनुसन्धान गर्न सिफारिस गरेका थिए।
लामो समयदेखि फरार रहेका चारै जनालाई पक्राउ गरेपछि सीआईबीले थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका उनीहरूलाई थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।