बुटवल– लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। अब लुम्बिनी मुख्यमन्त्रीसहित ९ मन्त्री रहेका छन्।
लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिस्ट पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र १ जना स्वतन्त्र गरी ८३ जना सदस्य छन् ।
वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।