बाजुरा– सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो। धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ।
जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन अहिले यस क्षेत्रमा श्रद्धालु भक्तजनहरुको घुइँचो छ। बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो।
विशेष गरी हरेक वर्षको जनपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ।देशका विभिन्न ठाउँबाट भक्तजनहरू कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागी पुग्ने गर्छन्। श्रद्धालुभक्तजनहरुका लागी यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई,आस्था,विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ।
समुन्द्री सतह देखी करिब ४ हजार २ सय मिटरको उचाइमा बडीमालिका, त्रिवेणी क्षेत्र प्राकृतिक तथा धार्मिक सम्भावना बोकेका क्षेत्र हुन्।बडीमालिकालाई फाँट फाँटको सहर भन्दा पनि फरक पर्दैन। यहाँ २२ वटा समथर हरिया पाटनहरू छन्।
मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णु पानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन्।प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरू नै यहाँका मुख्य आकर्षक हुन्।
अहिले यहाँ नेपाल टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा आएको छ। यसअघि सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
टावर जडानका लागि यहीँ भदौ ३ गते टेलिकमका प्राविधिकको टोली बडीमालिकामा पुगेको थियो। निर्माण कार्य सकेर अहिले उक्त क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनमा छ। पछिल्लो समय बडीमालिकामा पर्यटकको संख्या बढ्दै गएको छ।
तस्बिरहरू :








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।