काठमाडौं– काठमाडौं महानगरपालिका–७ कुमारीगालबाट ३७.९१ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार कुमारीगाल क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा ३९ वर्षीय विकास श्रेष्ठको साथबाट खैरो हेरोइनका दुई पोका र ५५ हजार रुपैयाँ नगद बरामद भएको थियो।
श्रेष्ठमाथि थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति होटल एण्ड गेस्ट हाउसको चौथो तलामा रहेको कोठा नम्बर १२३ मा खानतलासी गरिएको थियो। सो क्रममा थप दुई पोका खैरो हेरोइन र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद खैरो हेरोइनको कुल तौल ३७.९१ ग्राम रहेको छ।
घटनामा श्रेष्ठसहित सिराहा अर्नामा गाउँपालिका–२ का ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरुङ्गा नगरपालिका–५ का १७ वर्षीय आदित्य झा पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनसँगै ५५ हजार रुपैयाँ नगद, एक थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल पनि बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।