फाइल तस्बिर
स्याङ्जा– गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५:४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चालकसहित १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
जिपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। मृतक तथा घाइतेको परिचय पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।