काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएका छुट्टाछुट्टै पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने भएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सोमबार निवेदनको अध्ययन पूरा हुन नसकेकाले मंगलबार दर्ता गरिनेछ।
देउवा र खड्काको तर्फबाट सोमबार छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्चमा पेस गरिएको थियो। दुवै निवेदनलाई यसअघि नै अदालतमा दर्ता भएको कांग्रेसको आधिकारिकतासम्बन्धी रिटसँगै राखेर सुनुवाइ गर्न माग गरिएको छ।
उक्त मुद्दा यसअघि नै पूर्ण इजलासमा विचाराधीन रहेकाले नयाँ पूरक निवेदन पनि सोही पूर्ण इजलासमा पेस गर्ने तयारी गरिएको सर्वोच्चले जनाएको छ।
यसअघि शुक्रबार पनि देउवाका तर्फबाट सर्वोच्च पुगेका वारेसले रिट दर्ता गर्न खोजेका थिए। तर प्रक्रिया नमिलेपछि रिट फिर्ता लगिएको थियो।
सोमबार भने आवश्यक प्रक्रिया पूरा गरी देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै पूरक निवेदन पेस गरिएको हो।
अब मंगलबार निवेदन दर्ता भएपछि कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पूर्ण इजलासमा थप प्रक्रियाका लागि अघि बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।