विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्।
उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन्।
यस्तै, प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको सङ्ख्या ४ रहेको छ। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत ९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो। मत विभाजनमा ८३ जना सांसद सहभागी भएका थिए। प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन्।
कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसदले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन्।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच साउन ९ गते भएको तीन बुँदे सहमतिसँगै प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो।
मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। पहिलो पटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते उनले विश्वासको मत लिएका थिए। त्यतिबेला उनले ५७ मत प्राप्त गरेका थिए।
दोस्रो पटक एमाले र माओवादीको केन्द्रमा गठबन्धन फेरिए र एमाले कांग्रेसको गठबन्धन बनेपछि २०८१ असोज २ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए। सो समयमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।
प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।