काठमाडौँ – सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई घरबाहिर हिँडडुल गर्न नदिनुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको सोमबारको इजलासले प्रसाईँले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा उक्त आदेश जारी गरेको हो।
अदालतले आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।
सर्वोच्चले भदौ ४ गतेको खानतलासी पुर्जीअनुसार प्रसाईँको घरबाट बरामद गरिएका भनिएका सामग्रीसमेत पेसीका दिन अदालतमा ल्याउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ।
आदेशमा भनिएको छ, ‘आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू।’
त्यस्तै, प्रसाईँको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामान पेसीका दिन लिएर उपस्थित हुन पनि अदालतले प्रहरीलाई आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।