काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारविरुद्ध सदनमा आक्रोश पोखेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रास्वपाको नेतृत्वमा सरकार बनेयता नै समाजमा अराजकता, हिंसा र सामाजिक असन्तुष्टि बढेर गएको बताएका छन् ।
सिंहले पछिल्ला विभिन्न घटनालाई कुनै एउटा स्थान वा समुदायसँग मात्र जोडेर हेर्न नहुने बताए। समाजमा देखिएका घटनाहरूले सरकारप्रति नागरिकको विश्वास र भरोसा कमजोर हुँदै गएको संकेत गरिरहेको उनको भनाइ छ ।
उनले बारा र सप्तरीमा भएका घटनादेखि धार्मिक तथा सामाजिक सद्भाव, मिटरब्याज, लघुवित्त पीडित र चिकित्सकसँग सम्बन्धित विवादसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरे।
‘हाम्रो समाज कतातिर गइरहेको छ ?’ भन्ने प्रश्न गर्दै सिंहले सरकार गठन भएयता विभिन्न क्षेत्रमा असन्तुष्टि र तनावका घटना दोहोरिरहेको बताए। उनले यस्ता घटनालाई छुट्टाछुट्टै रूपमा हेर्नुभन्दा समग्र सामाजिक अवस्थाको समीक्षा गर्नुपर्नेमा जोड दिए।
सिंहले हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण सर्वसाधारण प्रभावित भइरहेको बताए। समाजमा अस्थिरता र बेथिति बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नागरिकको दैनिकी र राज्यप्रतिको भरोसामा पर्ने उनको भनाइ थियो।
‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ,’ उनले भने।
उनले पछिल्ला घटनाको कारण पहिल्याएर समाधान खोज्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षबीच गम्भीर छलफल आवश्यक रहेको बताए। केवल घटनापछि प्रतिक्रिया जनाउनेभन्दा पनि समस्या दोहोरिन नदिने गरी राज्यले दीर्घकालीन उपाय अपनाउनुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।