काठमाडौं– नेपाली कांग्रेसकी सांसद मिनुकुमारी कर्णले आरोपितको भिडियो सार्वजनिक गरेर प्रहरी प्रशासनले मिडिया ट्रायल गरेको आरोप लगाएकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले तीन वर्षिया बालिका गरिमा गच्छदारको बलात्कारपछि भएको हत्यामा आरोपितको भिडियो सार्वजनिक भएकोमा आपत्ति जनाइन् ।
‘अपराधको घटनालाई सुरक्षा निकायले मिडिया ट्रायल गरेर नौटंकी गरिरहेको छ । यसको जवाफ कसले दिने ? यसको जवाफ सुरक्षा निकायले दिन सक्दैन ?,’ उनले भनिन्, ‘यदि सुरक्षा निकायले अपराधीलाई सजाय दिन सक्दैन भने हामी आमाहरूलाई जिम्मा लगाइदिनुस् त्यस्ता अपराधी नरपिचासलाई चौराहमा लगेर पेट्रोल छर्केर जलाउँछौँ । त्यसपछि बल्ल अर्का अपराधी डराउँछन् ।’
हालै सार्वजनिक भिडियोमा आरोपीसँग सोधपुछ गरिएको छ । सांसद कर्णले छोरीमुक्त समाज बनाऔँ भन्दै आक्रोश पनि पोखिन् । ‘किन सुरक्षा निकाय ध्यान दिँदैन ? किन निरिह छ छोरीबेटीलाई सुरक्षा दिन ? कसको जिम्मा लगाउने समाजका छोरीलाई अब हामी ? कि छोरीमुक्त देश बनाऔँ । छोरीमुक्त समाज बनाऔँ । छोरी नै नरहे अपराध हुँदैन । टन्टै साफ हुन्छ,’ उनले भनिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।