काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । सोमबार देउवा र खड्का भिन्नाभिन्नै रिट लिएर सर्वोच्च पुगेका हुन् ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दुईवटा रिट पेस गरेको छ ।
सोमबार नेता पूर्णबहादुर खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले पनि रिट पेस गरेका छन् ।
यद्यपि, उनीहरूको रिटलाई सर्वोच्च अदालतले दर्ता भने गरिसकेको छैन । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन् ।
साउन २१ गते प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आधिकारिकतासम्बन्धी पुरानो फैसला पुनरावलोकन गर्न आदेश दिएको थियो ।
२९ साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट देउवा पक्षका नेताहरूले अदालतको आदेशपछि त्यसलाई स्थगन गर्दै अदालतको निर्णय कुरेका हुन् ।
देउवा पक्षले पुरानो निवेदन फिर्ता लिएर नयाँ रिट पेस गर्ने निर्णय गरेको थियो ।
गएको शुक्रबार (भदौ ५) यही विषयमा देउवाले दिएको रिट कार्यालय सकिने बेला ‘करेक्सन’ गर्ने भन्दै सर्वोच्चबाट फिर्ता लगिएको थियो ।
०८२ पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो । सर्वोच्चको संयुक्त इजलासले पनि त्यसलाई सदर गरेको थियो ।
देउवा पक्षले सर्वोच्च अदालतमा दिएको पछिल्लो रिटमा कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल अघि नबढाउन माग गरिएको छ। आधिकारिकतासम्बन्धी विवाद सर्वोच्चमै विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्नुपर्ने उनीहरूको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।