फाइल तस्बिर
काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकमा पहिरो, बाढी र नदी कटानका कारण यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार केही मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारी साधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
यता, इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको जनाइएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकुमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सोही वडाको लिपिङ बजारमा खहरे खोलाबाट आएको लेदो र ढुङ्गासहितको पहिरोले पनि सडक पूर्ण रूपमा बन्द भएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षा अझै जारी रहेकाले पहाडी सडकमा पहिरो तथा नदी कटानको जोखिम कायमै रहेको छ। त्यसैले सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।