काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा बनेको सरकारमाथि हालसम्म भ्रष्टाचार वा अनियमितताको प्रश्न उठ्न नसकेको दाबी गरेका छन् ।
सरकारका कामकारबाहीमा कतिपय निर्णय विवादित भए पनि सरकारको नियत र नीति स्पष्ट रहेको भन्दै उनले सरकारको पारदर्शितालाई आफ्नो पार्टीका लागि सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् ।
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘सुशासनको मुद्दा उठाएको रास्वपा सरकारले आज कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन । यो सबैभन्दा ठूलो कुरा हो ।’
उनका अनुसार सरकारका निर्णयमध्ये केहीले आलोचना र विवाद निम्त्याए पनि कतिपय निर्णयले आम नागरिकबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । निर्णयको परिणामसँगै सरकारको नियत र नीति हेर्नुपर्ने उनको भनाइ छ ।
‘सरकारका काम–कारबाहीमा कहिलेकाहीँ कुनै–कुनै निर्णय विवादित हुन्छन्, कुनै–कुनै निर्णय असाध्यै धेरै आम नागरिकको वाहवाही पाउने खालका हुन्छन् । महत्त्वपूर्ण कुरा सरकारको नियत हो । सरकारले लिने नीति हो,’ लामिछानेले भने ।
उनले अहिलेसम्म आफूहरूको सरकारमाथि भ्रष्टाचार, काण्ड वा अनियमितताको आरोप प्रमाणसहित उठ्न नसकेको दाबी गरे ।
‘आज हामीलाई कसैले भन्न सक्दैन– तिमीहरूले भ्रष्टाचार गर्यौ, तिमीहरूको यो काण्ड भयो, तिमीहरूले यहाँ अनियमितता गर्यौ भनेर । एक जनाले पनि भन्न सकेका छैनन्,’ उनले भने, ‘बस्, यो चिज हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
सरकारका सबै कामको परिणाम तत्काल देखिन नसक्ने भन्दै लामिछानेले सरकारको कामलाई दीर्घकालीन योजनासँग जोडेर हेर्नुपर्ने बताए ।
‘सबै कामहरू सरकारको पहिलो वर्षमा देखिने खालका पनि हुँदैनन् । जग हाल्दा त्यो स्ट्रक्चर देखिँदैन,’ उनले भने ।
यसैबीच, लामिछानेले पार्टीलाई देशव्यापी रूपमा थप सक्रिय बनाउने तयारी भइरहेको जानकारी दिए । सरकारको १०० दिनपछि पार्टीभित्र निरन्तर छलफल भइरहेको र संगठन विस्तार तथा पदपूर्तिका काम अघि बढिरहेको उनले बताए ।
उनका अनुसार पार्टीमा नयाँ सदस्यहरू जोडिने क्रमसँगै रिक्त पदहरू पूर्ति गर्ने काम पनि भइरहेको छ ।
लामिछानेले आफू चाँडै मधेस यात्रामा निस्कने तयारीमा रहेको पनि बताए । ‘सम्भवत: हप्ता १० दिन या दुई हप्तामा म मधेस यात्रामा पनि निस्कन्छु । हामी देशैभरि जानेछौँ । पार्टी पूर्ण रूपमा चलायमान हुनेछ,’ उनले भने ।
सरकार र प्रतिपक्षबीचको शक्ति सन्तुलनबारे पनि धारणा राख्दै लामिछानेले अहिले सरकार मात्रै नभई प्रतिपक्ष पनि बलियो रहेको बताए । बलियो प्रतिपक्षलाई राजनीतिक ढङ्गले सामना गर्न नसके मुलुक अर्कै दिशातर्फ जान सक्ने उनको चेतावनी थियो ।
मुलुकले वर्षौँदेखि देखेको सपना यसपटक पनि पूरा हुन नसके निराशा बढ्न सक्ने भन्दै उनले त्यसो हुन नदिन राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।